• १३ असोज २०८१, आइतबार

१६ घण्टा पछि खुल्यो बेनी-जोमसोम सडक

blog

सडक खुलेपछि गन्तव्यतर्फ जाँदै गरेका सवारी साधन । तस्बिर : ठाकुर आचार्य

ठाकुर प्रसाद आचार्य 

म्याग्दी, जेठ ३१ गते । बेनी-जोमसोम सडक सोह्र घण्टा पछि खुलेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल बाढीले बगाउँदा सडक अवरुद्ध भएको थियो। 

मङ्गलबार राति करिब १० बजेबाट अवरुद्ध बनेको सिधा यातायात आज दिउँसो दुई बजेटबाट सुचारु भएको अन्नपूर्ण–२ का वडा अध्यक्ष ओम फगामीले जानकारी दिनुभयो । उहाँका अनुसार कल्भर्ट बगाएको ठाउँमा कालीगण्डकी कोरिडोर सडक आयोजनाले डोजर परिचालन गरेर अस्थायी रूपमा खोलामा सवारी वारपार हुनेगरी मर्मत गरेपछि सडकमा यातायात सुचारु भएको हो । 

सडक अवरुद्ध बनेपछि बीच बाटोमै रोकिएका सवारी साधन सडक सुचारु भएसँगै आफ्नो गन्तव्यतर्फ लागेका छन् । गत जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको ३ मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायी रूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो ।

मङ्गलबार राती वर्षासँगै आएको बाढीले ह्युमपाइप र वरपरको सडक कटान गरेको थियो । यसैबीच बाढीले भुरुङतातोपानी बजारमा वितरण हुने खानेपानीको पाइप क्षतविक्षत बनाएपछि यहाँ खानेपानीको हाहाकार भएको छ । 

करिब ८० घरधुरी रहेको तातोपानीमा खानेपानीको करिब ५ सय मिटर बढी पाइपलाइन क्षति भएको छ । गाउँपालिकाले पाइप बगाएको ठाउँमा अर्को पाइपको बन्दोबस्त गर्ने गरी स्थानीयवासी खानेपानीको मर्मतमा जुटेका छन् । बाढीले तातोपानीबाट भुरुङ जाने सडकमा समेत क्षति पुर्‍याएको छ ।