• ९ पुस २०८१, मङ्गलबार

अध्यक्ष तिमिल्सिना र सांघाई म्युनिसिपल कंग्रेस अध्यक्षबीच भेटवार्ता

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुसँगको भेट ।

काठमाडौं, जेठ ३१ गते। चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुबीच शिष्टाचार भेट गर्नुभएको छ। 

अध्यक्ष तिमिल्सिनासँग चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङले पिपुल्स बिल्डिङमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो। भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औद्योगिक सहर सांघाईको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने कुरामा जोड दिनुभयो। सांघाईबाट काठमाडौं र पोखरा सीधा उडान भयो भने त्यसले सांघाईको औद्योगिक र व्यापारिक क्षेत्रको पनि नेपालले लाभ लिनसक्छ भन्नुभयो। 

सीधा उडान हुँदा नेपाली व्यापारी पनि सोझै आउन सक्छन् र यहाँबाट धार्मिक पर्यटक लुम्बिनी जानसक्ने र अन्य पर्यटक पोखरा जान सक्ने उहाँको भनाइ थियो। अध्यक्ष तिमिल्सिनाले पोखरा महानगरले सांघाई सहर सँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीलाई जानकारी गराउनुभएको थियो। 

चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले सांघाई सबैभन्दा ठुलो आर्थिक केन्द्र सहर भएको र यसले चीन र नेपालबीचको अन्तर सम्बन्ध बढाउने, अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने र दुई देशका जनतालाई फाइदा पुर्‍याउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने बताउनुभयो। 

भेटमा नेपालको संसदीय प्रतिनिधि मण्डलका सदस्य साथै चीनको सांघाईका नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका सदस्य, राष्ट्रिय जनकंग्रेसको विदेश मामिला समितिका उपाध्यक्ष तथा राष्ट्रिय जनकंग्रेसको चीन–नेपाल मैत्री समूहका उपप्रमुख वाङ के र सांघाई म्युनिसिपल पिपुल्स कंग्रेसको स्थायी समितिका महासचिव सी जियाङगाङ लगायत सहभागी हुनुहुन्थ्यो।

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डलले सांघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई ग्रामीण योजना प्रदर्शनी केन्द्र, चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन केन्द्रलगायतका स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष तिमिल्सिनाले यसअघि भ्रमणका क्रममा बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसंग भेट र द्विपक्षीय वार्ता गर्नुभएको थियो। 

वार्ताका क्रममा चीनको छेन्दुबाट पोखरासम्म सिधा हवाई उडान सुरु गर्ने विषय प्रमुखता पाएको थियो। अध्यक्ष तिमिल्सिना सहितको ९ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बिहीबार तिब्बततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।