• १४ मंसिर २०८१, शुक्रबार

सडक दुर्घटना रोक्न ध्यानाकर्षण

blog

सडक दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइँदै । तस्बिर : विमलप्रसाद पोख्रेल

बिमलप्रसाद पोख्रेल

प्युठान, जेठ ३१ गते । प्युठानको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीमा दर्शन गर्न आउने धर्मावलम्बी पटक पटक दुर्घटनामा पर्न थालेपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय प्युठानलाई दुर्घटना रोक्न ध्यानाकर्षण गराएका छन् । जेठ २९ गते स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा कार दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । सो दुर्घटनाले जिल्लावासीलाई दुःखी बनाएको उहाँहरूको भनाइ छ । 

२०७५ देखि अहिलेसम्म ३० जनाले ज्यान गुमाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। दुर्घटना एकपछि अर्को भइरहँदा आम नागरिकमा यात्रा गर्दा नकारात्मक असर पर्नेभएकाले सडक सुधार एवम् स्तरोन्नतिमा जिल्ला प्रशासनले नेतृत्व लिने र गतिविधिलाई प्रभावकारी बनाई घटनालाई न्यूनीकरण गर्न ५ बुँदे ध्यानाकर्षणपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको छ।

नेकपा (एमाले) प्युठानका अध्यक्ष बिजयबिराज विष्टको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा वार्षिक करोडौँ रकम सडकका लागि आए पनि प्रभावकारी कार्यान्वयन नहुँदा सडक दुर्घटना हुने र यात्रुले अनाहकमा ज्यान गुमाउने गरेको उल्लेख छ । ध्यानाकर्षण पत्रमा सडक साँगुरो र धेरै घुम्तीहरू भएको, यातायातका साधनको गति एवम् क्षमता चेकजाँच, ट्राफिकमार्फत गरिनुपर्ने उल्लेख गरिएको छ । 

लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्मा, एमाले प्रदेश कमिटी सदस्य मधुर शर्मा, जिल्ला कमिटी अध्यक्ष बिजयबिराज विष्ट, सचिव माधव शर्मा, सचिवालय सदस्य पशुपतिनारायण नकर्मी, रामचन्द्र केसी लगायतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी मदन कोइरालालाई ध्यानाकर्षण पत्र बुझाइएको हो। सो अवसरमा प्रजिअ कोइरालाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम सुरु गर्ने बताउनुभयो ।