• २६ पुस २०८१, शुक्रबार

घट्टे खोलामा पक्की पुल बनेपछि स्थानीयलाई सहज

blog

सेराबेसी घट्टे खोलाको पक्की पुल । तस्विर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, जेठ ३१ गते । दोलखाको भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाको सिमानाको घट्टे खोलामा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको लगानीमा पक्की पुल बनेपछि यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई यात्रा गर्न सहज भएको हो ।

यसअघि पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो । पक्की पुल निर्माण सकिएपछि यस भेगका नागरिकलाई हिउँदे तथा वर्षातको समयमा खोला पार गर्न सहज भएको शैलुङ गाउँपालिका –४ का नरेन्द्र सुबेदीले बताउनुभयो ।

असारमा रोपाइँ गर्नु पारी खेत जानुपर्थ्यो, खोला बढेपछि पारी नै बास बस्नुपर्ने समयमा रहेकोमा पुल बनेपछि सो समस्याको अन्त्य भएको सुवेदीले बताउनुभयो । एकातिर समयमै सामान ढुवानी गर्न नपाउने, अर्कोतिर खर्चिलो व्यवधानले सताउने, पुल बनेपछि त्यो सबै समस्या दूर भएको स्थानीय बासिन्दा बताउनुहुन्छ । त्यतिमात्र होइन, घट्टे खोलाका कारण खोलापारि क्षेत्रका बासिन्दा बर्खा लागेपछि खाद्यान्नदेखि त्यहाँ उत्पादित, दूध, तरकारीका साथै आवश्यक सामग्री ढुवानी गर्न समस्या व्यहोर्दै आइरहेकामा अब समस्याबाट मुक्त भएका छन् । 

खेतमा फलाएको तरकारी घर आँगनबाटै गाडीमा लोड गरेर बेच्न पाएकामा खुसी छन् । घर नजिकै बगिरहेको खोलाले बर्खा लागेसँगै आवतजावतमा समस्या भएपछि त्यहाँबाट पारि जान खोला घट्नुपर्ने बाध्यता थियो । अहिले खोलामा पुल बनेसँगै घर आँगनबाटै तरकारी बेच्न पाएकामा धेरै खुसी लागेको उहाँले बताउनुभयो ।  

पुल बनेपछि कृषिबाली सदरमुकाम चरिकोटका बजारसम्म लैजान सहज भएको अर्का स्थानीय सिताराम कायस्थले बताउनुभयो । स्थानीयले उत्पादन गरेको गहुँ, धान, लसुन, प्याज, आलु लगायतका बालीहरू कृषकको खेतबारीबाट नै बिक्री हुने थालेपछि किसानहरूमा खुसी छाएको कायस्थको भनाइ छ ।

सो पुल २०७७ असार १५ मा करिब ४ करोडमा ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । ३५ मिटर लम्बाई रहेको सो पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल बनेपछि बाह्रै महिना शैलुङ चरिकोट सडक खण्डमा यात्रा गर्न सहज भएको छ ।