छविलाल पाण्डे
बुटवल, जेठ ३१ गते । अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज –११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोही ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा ३० वर्षीय नारायण यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
अर्काको नामबाट परीक्षा दिएर र दिन लगाएर बेइमानी गरेकाले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको डीएसपी अर्यालले बताउनुभयो । उनीहरूलाई अदालतबाट ७ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको डीएसपी अर्यालले जानकारी दिनुभयो ।