• ९ पुस २०८१, मङ्गलबार

अध्यक्ष तिमिल्सिना र सिपीसिसीका अध्यक्ष हु निङबीच भेटवार्ता

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङबीच भेटवार्ता । तस्बिर : अध्यक्ष तिमिल्सिनाको निजी सचिवालय

काठमाडौं, जेठ ३० गते। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङबीच भेटवार्ता भएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष  तिमिल्सिना र परामर्शदात्री सम्मेलनका अध्यक्ष हु निङबीच आज ग्रेट हल अफ पिपुल्समा भेटवार्ता भएको हो। 

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको र भविष्यमा पनि नेपाल एक चीन नीतिकै पक्षमा प्रतिबद्ध रहने बताउनुभयो। “नेपाली भूमिको दुरुपयोग गरी चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढरूपमा अडिग छौँ”, उहाँले भन्नुभयो। 

नेपाल र चीनबीच सदियौँदेखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जानेमा आफू विश्वस्त रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो। 

भेटमा परामर्शदात्री सम्मेलनका अध्यक्ष हु निङले नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्ने चीनको चाहना रहेको बताउनुभयो। उहाँले नेपाल र चीन दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउनका लागि दुई देशका राजनीतिक तहमा भ्रमण आदानप्रदान गरिने बताउँदै चीन छिमेकी देशसँग मैत्री, पारस्परिक लाभ हुने काम गर्न तयार छ भन्नुभयो। 

अध्यक्ष तिमिल्सिनासहितको नौ सदस्यीय प्रतिनिधिमण्डलले आजै बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको समाधिस्थलमा पुगेर पुष्पार्पण गरेको थियो। अध्यक्ष तिमिल्सिनाले तिब्बतमा असार १ र २ गते आयोजना हुने एक्स्पोलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।