• १३ असोज २०८१, आइतबार

अन्तर्राष्ट्रिय सगरमाथा दिवस

blog

काठमाडौं, जेठ ३० गते। सगरमाथा आरोहणको ७०औँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २०२३ का अवसरमा इस्लामाबादस्थित नेपाली राजदूतावासले नेपाली तथा पाकिस्तानी सगरमाथा आरोही, पर्वतारोहण सम्बद्ध पदाधिकारी, पत्रकार र नेपालका मित्रहरूको उपस्थितिमा कार्यक्रमको आयोजना गरेर मनाइएको छ। 

सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सगरमाथा दिवसको महत्त्वका बारेमा २९ मे १९५३ को सगरमाथाको प्रथम सफल आरोहणले पर्वतारोहणमा एक नयाँ आयाम थपेको र तत्पश्चात् हजारौँ पर्वतारोहीले सगरमाथा आरोहण गरेको बताउनुभयो। 

उहाँले नेपाल सरकारले पर्वतारोहणका सम्बन्धमा लिएका नीति, कार्यक्रम र पर्वतारोहण एवं साहसी पर्यटन र नीतिका बारेमा जानकारी दिनुभयो।

उहाँले हालै सगरमाथा अरोहण गर्नुभएका पाकिस्तानी पर्वतारोही नयला कियानी, साजिद अली सादपारालाई बधाई दिँदै उहाँहरूको आगामी पर्वतारोहण र साहसी खेल एवं पर्यटन अभियानको सफलताको कामनासमेत गर्नुभयो। 

राजदूत अधिकारीले त्यस अवसरमा शेर्पा समुदायको पर्वतारोहणमा योगदानको चर्चा गर्दै पर्वतारोहणमा शेर्पाको दक्षता, विश्वसनीयता र सहयोगी भावनाका कारण उनीहरूको सहयोगमा कुनै पनि पर्वत आरोहण गर्न सहज रहेको बताउनुभयो। शेर्पाहरू नेपालको नम्र शक्ति रहेको र नेपाली समाजले उनीहरूको योगदानको उच्च सम्मान गर्दै पर्वतारोहणमा सदैव गौरवान्वित रहेको बताउनुभयो। 

सो अवसरमा राजदूत अधिकारीले नयला कियानी र साजिद अलि सादपारालाई नेपालको पर्यटन विभागबाट जारी भएको सगरमाथा आरोहण गर्दा दिइने प्रमाणपत्र हस्तान्तरण गर्नुभएको पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ।

कार्यक्रममा पर्वतारोही मिङ्ग्मा जी शेर्पा, दावा शेर्पा, सरवाज खान, नयला कियानी र साजिद अलि साद्पाराले नेपालमा पर्वतारोहणको आ–आफ्नो अनुभव सुनाउँदै पर्वतारोहण अभियानमा नेपाल सरकार र जनताबाट प्राप्त सहयोगप्रति आभारी रहेको बताउनुभएको थियो। रासस