सिराज खान
नेपालगञ्ज, जेठ ३० गते । कोहलपुर नगरलाई सुन्दर र हरियो नगर बनाउने अभियानलाई तीव्र पारिएको नगरपालिकाले जनाएको छ । नगरमा रुख र बोटबिरुवा निकै कम रहेको ठहर गर्दै नगरपालिकाले बिरुवा रोप्ने र रोपिएका बिरुवाको संरक्षण गर्ने कार्यलाई तीव्र पारेको हो ।
कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुरलाई हरियो सुन्दर नगर बनाउने योजना अनुसार अहिले कोहलपुर बजार क्षेत्रमा बोटबिरुवा रोप्ने र रोपिएकालाई संरक्षण गर्ने कार्यलाई तीव्र पारिएको बताउनुभयो ।
मेयर आचार्यका अनुसार बिरुवाको संरक्षण होस् भन्ने उद्देश्यले रोप्नु पूर्व नै तारबार लगाउने काम पनि धमाधम चलिरहेको छ । कोहलपुरलाई हरित नगर बनाउने उद्देश्यले कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत पर्ने क्षेत्रमा गत वर्ष पनि विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको थियो । ती बोटबिरुवाको संरक्षणमा विशेष ध्यान दिइएको जनाइएको छ ।
तर लामो समयदेखि पानी नपरेका कारण हुर्किँदै गरेका कलिला बोटबिरुवा मर्ने जोखिम बढ्दै गएपछि कोहलपुर नगरपालिका वडा नम्बर ९ को आयोजनामा बोटबिरुवामा पानी हालेर सिँचाइ गर्न थालिएको छ । वडा नम्बर ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले गर्मीले बोटबिरुवा मर्ने जोखिम बढेपछि आफ्नो क्षेत्रभित्र रहेका बोटबिरुवालाई सिचाई गर्ने काम गरिएको बताउनुभयो ।
कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत वडा नम्बर ९ मा पर्ने पिपरी चोकदेखि दक्षिण वडा नम्बर १४ को सीमा भित्र पर्ने १८२ वटा बोटबिरुवामा सिँचाइ गरिएको वडा कार्यालयले जनाएको छ ।