• १४ मंसिर २०८१, शुक्रबार

गर्मी बढेपछि चिसो खानेपानीको व्यवस्था

blog

खजुरामा मोही, सर्वत र खानेपानी वितरण गर्दै युवा । तस्विर : सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, जेठ ३० गते । तातो हावा लू चलेर तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मी भएपछि काम विशेषले घर बाहिर निस्कने सर्वसाधारणको सहजताका लागि बाँकेका विभिन्न ठाउँमा चिसो खानेपानी वितरण सुरु गरिएको छ । 

प्रचण्ड गर्मीको बेला घर बाहिर निस्केका सर्वसाधारण खानेपानीको खोजीमा भौँतारिने गरेको देखेपछि उनीहरूको सहजताका लागि विभिन्न ठाउँमा चिसो खानेपानी वितरण सुरु गरिएको बताइएको छ । 

सबैभन्दा पहिले नेपालगञ्जका युवा समाजसेवी अजिज मलिकले नेपालगञ्जको त्रिभुवन चोक र बीपी चोकमा खानेपानी वितरण गर्नुभएको थियो । सोही देखेर अहिले जिल्लाका विभिन्न ठाउँमा विभिन्न सङ्घसंस्थाले पनि चिसो खानेपानी वितरण गर्न थालेका छन् । 

समाजसेवी मलिकले आफूले उदाहरणका लागि मात्र पानी वितरण सुरु गरेको जनाउँदै सोहीबाट प्रेरित भएर अहिले धेरैले सो काम गर्न थालेको देख्दा खुसी लागेको  बताउनुभयो । 

मानवता नेपाल नामक संस्थाले जिल्ला अदालत र भेरी अस्पताल नजिकको क्षेत्रमा बटुवाहरूका लागि चिसो खानेपानी वितरण गरेको छ भने नेपालगञ्ज वडा नम्बर ११ को वडा कार्यालयले त्रिभुवन चोकमा टेन्ट लगाएर एक हजार लिटरको पानी ट्याङ्की नै राखेर बटुवालाई पानी खुवाउन थालेको छ । वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले तातो हावा र गर्मीका कारण बजार निस्केका स्थानीयलाई समस्या भएपछि खानेपानीको व्यवस्था मिलाइएको बताउनुभयो ।   

सोही प्रकारले खजुराको आदर्श युवा सञ्जालले पनि खजुरा एक नम्बर बजारमा बटुवा र सर्वसाधारणलाई लक्षित गरेर मङ्गलबार मोही, सर्वतपानी, कागती पानी र चिसो पानी वितरण गरिरहेको छ । 

आदर्श युवा सञ्जालका सदस्य खगेन्द्र दाहालका अनुसार एक हजारभन्दा बढी सर्वसाधारणलाई मोही, सर्वतपानी, कागती पानी र चिसो पानी खुवाउने लक्ष्यका साथ पानी वितरण गर्ने कार्य भइरहेको बताउनुभयो । 

यस्तो प्रचण्ड गर्मीको बेला स्थानीय सरकारले नै आफ्नो पालिका भित्रका चोक चोकमा खानेपानीको व्यवस्था गर्नुपर्ने माग सर्वसाधारणको छ ।