• ११ असोज २०८१, शुक्रबार

मिटरब्याज पीडितको एउटा मात्र उजुरी

blog

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको भवन ।

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ २९ गते । ओखलढुङ्गामा मिटरब्याज पीडितको एउटा मात्र उजुरी दर्ता भएको छ । अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोगको निर्णय र गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयले उजुरी आह्वान गरेको समयभित्र जिल्लामा एउटा मात्रै निवेदन दर्ता भएको हो । 

बैशाख १९ गते सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले मिटरव्याज पीडितहरुले आफुसँग भएका सबुद प्रमाणसहित १५ दिनभित्र उजुरी दिन आग्रह गरेको थियो । पुनः सात दिन थप गरेर समयदिँदा पनि जिल्लामा एउटा मात्र निवेदन दर्ता भएको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिनुभयो । 

ओखलढुङ्गा जिल्लाबासी पीडित भएको र पीडक ललितपुर जिल्लाको रहेको उजुरी आएको उहाँको भनाइ छ । मिटरव्याजसम्वन्धी जाँचबुझ आयोगले जिल्लामा छलफल गराउने समेतको अधिकार दिए पनि पिडक ललितपुर जिल्लाको भएकाले आयोगमै उजुरी पठाइदिने तयारी रहेको प्रमुख जिल्ला अधिकारी कुमारीको भनाइ छ । 

‘हामीकहाँ जम्मा एउटा उजुरी आएको छ । त्यो पनि पिडक चाँहि ललितपुरको भन्ने उल्लेख छ’ प्रजिअ कुमारीले भन्नुभयो, ‘आयोगले समस्याहरु पहिचान गरेर छलफल गराएर सकेसम्म विवाद सुल्झाउने अन्यथा कारबाहीका लागि सिफारिस गर्ने अधिकारसहितको पत्र पठाएको छ । तर ललितपुरकै मान्छे झिकाउनु पर्ने भएकाले आयोगमै यो पनि उजुरी पठाइदिने हाम्रो तयारी छ ।’ 

जिल्लामा मिटरव्याज पीडितको धेरै समस्या नरहेकाले नै उजुरी नआएको हुनसक्ने उहाँको भनाइ छ । सरकारले केही समय पहिला ऐन नै बनाएर अनुचित लेनदेन घटनाको छानबिनका लागि देशभरिका जिल्ला प्रशासन कार्यालयबाट निवेदन संकलन सुरु गरेको थियो । ओखलढुङ्गामा मिटरव्याजभन्दा लघुवित्तबाट महँगो व्याजमा ठगिनेको संख्या धेरै छ ।