• १३ पुस २०८१, शनिबार

जग्गाको कित्ताकाट खुल्यो

blog

जग्गा बर्गीकरण सार्वजनिक गर्नुहुँदै नगरप्रमुखसहितका पदाधिकारीहरु ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, जेठ २९ गते । महोत्तरी जिल्लामा मटिहानी नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र रहेको जग्गाको कित्ताकाट सार्वजनिक गरेको छ । मटिहानी नगरपालिकाले भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकारको उपयोग गर्दै जग्गा सार्वजनिक गरेको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।

सोमबार एक कार्यक्रमबीच भू–उपयोग क्षेत्र वर्गीकरण सार्वजनिकीकरण गर्नुहुँदै नगरप्रमुख मण्डलले भन्नुभयो, ‘नगरपालिकामा कृषि क्षेत्रतर्फ १६८६.७१८ हेक्टर, व्यावसायिक क्षेत्रतर्फ १७.६२८ हेक्टर, सांस्कृतिक क्षेत्रतर्फ २.४०० हेक्टर, नदीजन्य पोखरी क्षेत्रतर्फ ६४.७७६ हेक्टर, औद्योगिक क्षेत्रतर्फ २६.८४२ हेक्टर, सार्वजनिक क्षेत्रतर्फ ६५.६९४ हेक्टर र आवासीय क्षेत्रतर्फ १०५४.७७४ हेक्टर जग्गा वर्गीकरण गरेका हौँ ।’

नगरप्रमुख मण्डलले वर्गीकरण गरेको जग्गाहरू जम्मा ३४ हजार तीन सय ९७ कित्ता रहेको र मङ्गलबार देखि सबै जग्गाको कित्ताकाट खुल्ला गरिने गरी कार्य अगाडी बढाएको बताउनुभयो । जग्गाको कित्ताकाट अभावमा नगरवासीहरुलाई सामाजिक कार्यहरूमा असहजता देखिएकोले नगरपालिकाले जग्गाको वर्गीरणमा तदारुकता देखाउँदै कित्ताकाट खोलाएको जनाएको छ । 

जिल्लामा बर्दिबास नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिकाले यस अघि जग्गाको वर्गीकरण गरी कित्ताकाट खुलाइसकेको छ । 

जग्गा वर्गीकरण सार्वजनिकीकरण कार्यक्रममा उपप्रमुख मञ्जु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्र शेखर शर्मा, इन्जिनियर विमलेश साह, योजना अधिकृत राजेश कुमार शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू नापी कार्यालयका प्रतिनिधि अधिकृत ज्ञानकुमार यादव सहित सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

जग्गा कित्ताकाट रोकिएको कारण वर्षौँदेखि सास्ती भोग्नुको साथै विभिन्न कामहरू गर्न/गराउन नपाएका मटिहानी नगरवासीहरुले मङ्गलबारदेखि जग्गा सम्बन्धी कामहरू गर्न पाउने भएका छन् ।