• १४ मंसिर २०८१, शुक्रबार

तौलिहवा बसपार्कमा प्रहरी विट स्थापना

blog

तौलिहवा बसपार्कमा प्रहरी विटको शुभारम्भ । तस्बिर : नारद कोहार । तौलिहवा

नारद कोहार

तौलिहवा, जेठ २९ गते । कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बसपार्कमा प्रहरीको कार्य योजना अनुसार महिला प्रहरी सहितको प्रहरीको सुरक्षा विट स्थापना गरिएको छ। विटको उद्घाटन कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल र प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले गर्नुभएको हो । 

विटका लागि नगरपालिकाले बस पार्कमा रहेका २ वटा सटरहरू प्रहरीलाई दिएको छ । बसपार्कमा आपराधिक घटनाहरूमा कमी आउने र यात्रुहरूले शान्ति सुरक्षाको महसुस गर्ने नगर प्रमुख पौडेलले बताउनुभयो । 

बसपार्कमा बिट स्थापना महत्त्वपूर्ण काम भएको भन्दै विट स्थापना भएपछि भिडभाड हुने बसपार्क र यात्रुहरूको सुरक्षाको मद्दत मिल्ने उहाँको विश्वास छ । नगरपालिकाको जगदीशपुर ताल क्षेत्र, दोहनी र बसपार्क गरी ३ ठाउँमा प्रहरी बिट स्थापना हुनुले पनि नगर क्षेत्रको सुरक्षा थप बलियो हुने उहाँको भनाइ छ । उहाँले बस व्यवसायीहरूलाई तौलिहवा बजार क्षेत्रमा तीव्र गतिमा गाडी नचलाउन आग्रह समेत गर्नुभयो । 

प्रजिअ आचार्यले प्रहरी विटले यात्रुहरूले विभिन्न गुनासोहरू समाधान हुने र झैझगडामा समेत कमी आउने बताउनुभयो । उहाँले यात्रुहरूको सुविधाको ख्याल गर्न प्रहरी र यातायात व्यवसायीलाई आग्रह गर्नुभयो । 

प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले व्यस्त ठाउँमा प्रहरी राख्ने योजना अनुरूप प्रहरी विट स्थापना गरिएको बताउनुभयो । यसले शान्ति सुरक्षा र अमनचैन ल्याउने उहाँको दाबी छ । 

कार्यक्रम सामुदायिक सेवा केन्द्रको अध्यक्ष देवी प्रसाद बर्माको अध्यक्षता र प्रहरी निरीक्षक रेशम पौडेलको सञ्चालनमा भएको थियो ।