गोविन्द शर्मा
बाँके, जेठ २९ गते । बाँकेको राप्तीपारीस्थित नरैनापुर मटैयामा रहेको इलाका प्रहरी कार्यालय भगवानपुर जीर्ण तथा साँघुरो भवन भएका कारण प्रहरी कर्मचारी निराश थिए । इलाका प्रहरी कार्यालय भगवानपुरको आधुनिक भवन तथा ब्यारेक निर्माण भई उद्घाटन भएपछि नरैनापुरमा रहेका प्रहरी तथा कर्मचारी खुसी देखिएका छन् ।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशीले नव निर्मित भवनको सोमबार उद्घाटन गर्नुभयो । भवनको उद्घाटन गर्दै डिआइजी जोशीले अपराध न्यूनीकरणका लागि सहकार्य जरुरी रहेको बताउनुभयो ।
डिआइजी जोशीले भन्नुभयो, ‘अपराध न्यूनीकरणका लागि प्रहरी र नागरिकबीच निरन्तर सहकार्य हुनुपर्छ ।’ सो अवसरमा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुर गाउँपालिकाभित्र रहेका अन्य प्रहरी इकाई जीर्ण रहेको भन्दै पुनः निर्माणका लागि प्रहरी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।
इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीले तीन करोड बढीको लागतमा आधुनिक भवन निर्माण भएको जानकारी दिनुभयो । प्रहरी निरीक्षक रायमाझीले भन्नुभयो, ‘विगतमा प्रहरीले आफैलाई रातिको समयमा बस्न समेत गाह्रो थियो, अब नयाँ भवन बनेपछि सेवा प्रवाहमा समेत सहजता आउने विश्वास लिएका छौँ ।’ भारतीय सीमा नजिकै रहेको कार्यालयमा ४२ जना प्रहरीको दरबन्दी रहेको छ ।
भवन उद्घाटनमा प्रहरी प्रदेश कार्यालयका सुर्खेत (हाल नेपालगञ्ज) का प्रहरी वरिष्ठ उपरीक्षक डिल्लिराज विष्ट, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर, लुम्बिनी प्रदेश प्रहरी गण खजुराका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीलगायतका प्रहरी अधिकृतहरूको सहभागिता थियो ।