• १२ साउन २०८१, शनिबार

खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित

blog

पानी नपर्दा गर्मीले खेतमै सुक्दै गएको उखु । फाइल तस्बिर

बेदकोट, जेठ २९ गते । कञ्चनपुरको लालझाडी गाउँपालिका –३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेत खलियानमै व्यस्त हुनुहुन्छ । उहाँले दुई बिघाभन्दा बढी जमिनमा उखुखेती गर्नुभएको छ ।

केही दिनयता खेतको उखु सुक्न थालेकाले सिँचाइ गर्दै उहाँको दिन बित्छ । “पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै भयो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, बडायक भन्नुहुन्छ, “खेती जोगाउन हम्मेहम्मे परेको छ ।”

विगतका वर्षमा पनि उखु सुक्ने गरे पनि यस वर्ष अत्यधिकमात्रामा उखु सुक्दै गएको उहाँको भनाइ छ । “यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन”, बडायक भन्नुहुन्छ, “बोरिङबाट खेतमा पानी लगाइरहेका छौँ ।”

बेलौरी नगरपालिका –१० भुडाका धनीदत्त भट्ट खेतको उखु कसरी जोगाउने भनेर चिन्तित हुनुहुन्छ । दुई बिघा जग्गामा उहाँले उखुखेती गर्नुभएको छ । करिब आधा बिघाभन्दा बढीको उखु सुकेर नष्ट भइसकेको भटृको गुनासो छ  ।

“आकाशे पानीको भर पर्दा  खेतको उखु सुकेको छ, नहरबाट सिँचाइ हुने जमिनमा सिँचाइ गरिरहेका छौँ”, किसान भट्ट भन्नुहुन्छ, “पानी परे खेती जोगाउन सकिन्थ्यो ।”

उखु बेचेर घरखर्चको जोहो गर्ने उहाँ यसपटक लगानी पनि निकाल्न पनि गाह्रो हुने बताउनुहुन्छ । आम्दानीको स्रोतका रूपमा रहेको उखु खेतमै सुक्न थालेपछि यहाँका किसान चिन्तित बनेका हुन् । केही दिनयता अत्यधिक गर्मी बढ्नाका साथै सिँचाइका लागि आकाशबाट पानी नपर्दा उखु खेतमै सुक्न थालेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरि जोशी बताउनुहुन्छ ।

“यहाँ धेरै ठाउँमा आकाशको पानीका भरमा खेती हुन्छ”, उहाँ भन्नुहुन्छ, “पानी नपरेकाले र पछिल्लो समय तापक्रम पनि बढेकाले खेती सुकिरहेको छ ।” जिल्लाको पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी र दोधारा चाँदनीमा बढी उखुखेती हुने गरेको छ । जिल्लाभर आठ सयदेखि एक हजार हेक्टर जमिनमा उखुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कञ्चनपुरमा उखुको उत्पादन प्रति हेक्टर ५५ देखि ६० टनका दरले हुने गरेको छ । यहाँका किसानका लागि उखु बेच्न बेलौरी र पुनर्वासमा मिल छ । “गहिरो जमिनको खेती त्यति धेरै सुकेको छैन, बालुवा तथा सुख्खा जमिनको खेती सुकेको छ”, सूचना अधिकारी जोशी भन्नुहुन्छ, “किसानलाई बाली जोगाउन नियमित सिँचाइ गर्न आग्रह गरेका छौँ ।” रासस