• १३ असोज २०८१, आइतबार

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो : अर्थमन्त्री

blog

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २९ गते । अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताउनुभयो ।

संसदमा उठेका विषयमा जवाफ दिनुहुँदै उहाँ भन्नुभयो, ‘‘यो कार्यक्रममा बजेटको सीमितता छ । भौतिक पूर्वाधारको निकै माग छ । यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तीमा एक करोड रुपियाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो । यो पुँजीगत खर्च नै हो ।’’

कम्तीमा एक करोड घटिको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालय कै उहाँ प्रष्ट पार्नुभयो । ‘‘माननीयले त सिफारिस मात्रै गर्ने हो । सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन,’’ उहाँले भन्नुभयो । निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिक लगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने उहाँको भनाइ थियो ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि प्रत्येक निर्वाचन क्षेत्रको लागि पाँच करोड विनियोजन गर्नुभएको थियो । यो कार्यक्रमअन्तर्गत एउटा आयोजनामा कम्तीमा एक करोड विनियोजन भएको छ । सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका भौतिक पूर्वाधार निमार्णका आयोजना तथा कार्यक्रमका लागि आठ अर्ब २५ करोड विनियोजन गर्नुभएको थियो ।

यसैगरी, अर्थमन्त्री महतले अर्थमन्त्री भनेको ‘नो म्यान’ नै हुनुपर्ने बताउनुभएको छ । सबै कुरा ‘एस एस’ भन्दै गए केही पनि बाँकी नरहने उहाँको भनाइ थियो ।

राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री महतले भन्नुभयो, ‘‘साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौँ भने हामी थेग्न सक्दैनौँ । एस एस भन्ने कुरा अरूलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन ।’’ बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले माइनस रहेको समेत उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस