• १३ असोज २०८१, आइतबार

पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले तालिका बनाएको छ : अर्थमन्त्री

blog

सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २९ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताउनुभएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै अर्थमन्त्री महतले पुँजीगत खर्च बढाउन कार्यतालिकासहित प्रभावकारी कार्यान्वयनको मोडालिटी बनाएको बताउनुभयो ।

यसैगरी, अर्थमन्त्री महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताउनुभयो । राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै अर्थमन्त्री महतले भन्नुभयो, ‘‘उपभोग्य वस्तुमा कर लगाएको कुरा आएको छ । यहाँको चासो चिन्ता स्वाभाविक हो । तर मेरो उद्देश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्नु हो ।’’

आफ्नो उत्पादनलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाउनुपर्ने समेत बताउनुभयो । अर्थमन्त्री महतले भन्नुभयो, ‘‘आलु प्याज पनि विदेशबाट आयात गर्ने ?, आफैँ उत्पादन गरेर खानु पर्‍यो ?’’