• १४ मंसिर २०८१, शुक्रबार

‘जाऊँ हिँड रेसुङ्गा’ अभियानमा होटल व्यवसायीको ऐक्यबद्धता

blog

रमेश विश्वकर्मा

गुल्मी, जेठ २९ गते । गुल्मी रेसुङ्गा नगरपालिकाले जेठ २१ गते शुभारम्भ गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानलाई सफल बनाउन व्यापक प्रचार–प्रसार भइरहेसँगै यहाँका होटल व्यवसायी मञ्चले पनि ऐक्यबद्धता जनाएका छन् । 

यस जिल्लाको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गाको गर्जुरामा सम्पन्न भएको मञ्चको १४ औँ साधारण सभाबाट नगरपालिकाले शुभारम्भ गरेको ‘जाऊ हिँड रेसुङ्गा’ अभियानलाई सफल बनाउन ऐक्यबद्धता जनाएको हो ।

मञ्चका अध्यक्ष जङ्गबहादुर कुँवरले रेसुङ्गा नगरपालिकाले शुभारम्भ गरेको अभियानलाई सफल बनाउन यस जिल्लामा रहेका सम्पूर्ण होटल व्यवसायीहरू लाग्ने बताउनुभयो। पर्यटनमार्फत मात्रै यहाँका जनताको आर्थिक समृद्धि र रोजगारीको अवसर सृजना हुने भन्दै नगरपालिकासँग सहकार्य अगाडी बढाउने बताउनुभयो ।

पर्यटन व्यवसायी सुदर्शन खनालले यस जिल्लामा पर्यटनको अपार सम्भावना रहेको बताउनुभयो । पर्यटन पूर्वाधारहरू पनि निर्माण भइरहेकाले अब लगानी र पर्यटन प्रवर्द्धनमा सबै पक्षले जोड दिनुपर्ने बताउनुभयो । 

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि सो अभियानको शुभारम्भ गरेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्ष २०८०/०८१ मा करिब एक लाख पर्यटकहरूलाई रेसुङ्गामा भित्र्याउने योजना रहेको बताउनुभयो । 

त्यस्तै, आगामी आर्थिक वर्ष लगानी सम्मेलन तथा पर्यटकीय गतिविधि सञ्चालन गरिने बताइएको छ । नगरपालिकाले ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानलाई सफल बनाउनका लागि वडा नम्बर –७ का वडा अध्यक्ष रामप्रसाद पन्थी ‘रामजी’ लाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।