• २० असार २०८१, बिहिबार

खोटाङ र उदयपुर जोड्न सुनकोशीमा पुल निर्माण सुरु

blog

राजकुमार भट्टराई

खोटाङ, जेठ २९ गते । खोटाङको दक्षिण भेगलाई तराईसँग जोड्ने वंशिलाघाटस्थित सुनकोशी नदीमा पुल निर्माणको काम सुरु भएको छ। वराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१, चौदण्डीगढीको सिमानामा पर्ने वंशिलाघाटमा पुल निर्माणका लागि २०७७ पुस २८ गते ठेक्का सम्झौता भएको थियो। 

एम/एस कालिका–वेदांसी जेभीले भ्याट र पिएससहित १९ करोड १८ लाख ४१ हजार चार सय रुपियाँमा निर्माणको जिम्मा पाएको हो। सम्झौता अनुसार आगामी २०८० असोजमा पुल निर्माणको म्याद सकिँदै छ तर निर्माण कम्पनीले बल्ल काम सुरु गरेको छ। म्याद सकिन केही समय बाँकी रहँदा निर्माण कम्पनीले जेठ १९ गतेबाट पुल फाउन्डेसनको काम सुरु गरेको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयो।

सम्झौता अनुसार वंशिलाघाटमा पाइल फाउन्डेसन भएको १५० मिटर लम्बाइ भएको प्रि–स्ट्रेस बक्स गिर्डर ब्रिज बन्ने छ तर निर्माण कम्पनीले समयमा काम सक्ने छाँटकाँट देखिँदैन। निरन्तरको खबरदारीपछि मेसिन लिएर ठेकेदार वंशिलाघाट बल्ल पुगेको प्रदेश सभा सदस्य भूपेन्द्र राईको भनाइ छ। हाल ठेकेदारले काम सुरु गरेको स्थानीयवासीले बताएका छन्। 

पुल बनाउने स्थान केही तल सार्नु पर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ। पुलको पेटी ठेक्का लिएर सम्पर्कविहीन बनेका ठेकेदारलाई खोजेर पुल शिलान्यास गराइएको थियो तर पुल शिलान्यासपछि पनि सो पेटी ठेकेदार भागेकाले मुख्य ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको प्रदेश सभा सदस्य राईले बताउनुभयो।

 वंशिलाघाट खोटाङको वराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका सर्वसाधारण पूर्वी सहर बाहिरिने र भित्रिने प्रमुख नाका हो। वंशिलाघाटमा हाल २०७५ सालमा बनाइएको झोलुङ्गे पुलमार्फत सुनकोशी वारपार गर्ने गरिन्छ।