शेरबहादुर सार्की
बाजुरा, जेठ २९ गते । बाजुराका एक किसानले तराईको गर्मीमा फल्ने तरबुजा पहाडको चिसो ठाउँमा समेत फलाउन सफल हुनुभएको छ ।
बुढीगङ्गा नगरपालिका–१०, देउमाण्डौका स्थानीय भोलाराम जैसीले तराईमा फल्ने तरबुजा पहिलो पटक पहाडमा फलाउनुभएको हो ।
२०७९ फागुन, चैत महिना परीक्षणका लागि तराईमा फल्ने तरबुजा पहाडमा ल्याएर लगाएपछि राम्रैसँग फलेको बुढीगङ्गा नगरपालिका–१०, देउमाण्डौका स्थानीय भोलाराम जैसीले बताउनुभयो । उहाँले भन्नुभयो, “तरबुजा तराईमा मात्र फल्ने फल हो कि यो पहाडमा पनि फल्छ भनेर पहिलो पटक परीक्षण गर्नका लागि लगाएपछि राम्रोसँग फलेको बताउनुभयो ।”
बाजुरा चिसो ठाउँ हो । यो फल यहाँ फल्छ कि फल्दैन भनेर परीक्षण गर्नकै लागि गत फागुन, चैतमा झन्डै सात रोपनी जमिनमा तरबुजा लगाएको जैसीले बताउनुभयो ।
तराईमा मात्र तरबुजा फलेको देखेका बाजुराका अधिकांश स्थानीयलाई यो फल बाजुरामै फलेको देखेपछि निकै अचम्म लागेको छ ।
जैसी भन्नुहुन्छ, “मैले लामो समयसम्म टमाटर, आलु, गोलभेँडा, काँक्रा, फर्सीलगायतका विभिन्न तरकारी फलाउँदै आएकाले यो तरबुजा फलाउन कुनै समस्या नभएको बताउनुहुन्छ । तराईको बगरमा फल्ने तरबुजा यति बेला बाजुराको खेतबारीमा समेत लटरम्म फलेको छ । यो वर्ष परीक्षण गर्नका लागि थोरै मात्र लगाएको हो । आउँदो वर्ष तरबुजालाई खेतीका रूपमा नै लिने जैसीको योजना छ ।
जैसी २०७४ को स्थानीय तहको निर्वाचनबाट बुढीगङ्गा नगरपालिका–१० को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले तरकारी खेतीबाट नै दुई छोरा एक छोरीको उच्च शिक्षासमेत पूरा गराउनुभएको छ । जैसीले तरबुजा मात्र होइन, अहिले सात रोपनी जमिनमा ड्र्यागन खेतीसमेत गर्नुभएको छ ।