• १३ पुस २०८१, शनिबार

अविवाहित गर्भवती महिलाको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, जेठ २८ गते । सर्लाहीको बसबरिया गाउँपालिकामा केही दिनअघि गर्भपतन गराएकी एक १६ वर्षीया किशोरीको उपचारका क्रममा आज मृत्यु भएको छ । बसबरिया गाउँपालिका –२, मानपुर बस्ने महेन्द्र सहनीकी अविवाहित छोरी किरण कुमारीको उपचारका क्रममा आइतबार दिउँसो प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । 

किरण कुमारीले केही दिनअघि गाउँकै एक क्लिनिकमा पुगेर गर्भपतन गराउने औषधि खानुभएको थियो । करिब ६ महिनाको गर्भ रहेकोमा गर्भपतनको औषधि खाएपछि अत्यधिक रक्तस्राव भई उपचारका लागि जेठ २१ गते राति २ बजेतिर उहाँलाई प्रादेशिक अस्पताल मलङ्गवामा लगिएको थियो । अवस्था थप जटिल बन्दै गएपछि मलङ्गवा अस्पतालले उहाँलाई जनकपुर रेफर गरेको थियो ।  

जेठ २३ गते शल्यक्रिया गरी उहाँको करण कुमारीको गर्भबाट मृत अवस्थाको शिशु (छोरा) निकालियो । त्यसपछि पनि प्रादेशिक अस्पतालको आइसियु कक्षमा उपचाररत किरण कुमारीको आइतबार दिउँसो मृत्यु भएको हो । 

किरण कुमारीको मृत्यु भएको भनी प्रादेशिक अस्पताल जनकपुरले जानकारी गराएको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले जानकारी दिनुभयो । १६ वर्षीया अविवाहित किशोरी कसरी गर्भवती भइन ? भन्ने प्रष्ट हुन सकेको छैन । 

स्रोतका अनुसार किशोरीको विवाहको तयारी भइरहेका बेला अनैतिक सम्बन्धको गर्भ रहेको थाहा पाएपछि गर्भपतन गराउने क्रममा दुःखद घटना हुन पुगेको आशङ्का गरिएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले घटनाबारे जानकारी प्राप्त भएको र पीडित परिवार सम्पर्कमा आएपछि थप अनुसन्धान अघि बढाइने बताउनुभयो ।