• १३ असोज २०८१, आइतबार

बजेटकै कारण सरकार ढल्दैन : माधव सापकोटा

blog

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा ।

काठमाडौं, जेठ २८ गते। सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताउनुभएको छ। 

सत्तारुढ दलले नै बजेटको विरोध गरिरहेका बेला उहाँले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिनुभएको हो। आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धन भित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन गरेर अघि बढ्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘आपसी संवादका माध्यमबाट भारतसँग हाम्रा असमझदारीका कुरा हल गरिनुपर्छ। समाधान गरेर जानुपर्छ। भारतले जे गर्‍यो, त्यो गलत नै गरेको छ। आजको विश्व प्रतिस्पर्धामा त्यसलाई विचार गरेर, वरपरका सबै छिमेकीलाई विश्वासमा लिएर जाने गरी विशाल हृदयका साथ भारत अगाडि बढ्नुपर्छ। सरकार ढल्दैन। बजेट र त्यसमा पनि विनियोजनको बारेमा सत्ता गठबन्धनभित्र केही गुनासोको विषय छलफलमा छ। मलाई लाग्छ, यो बैठकमा अन्तिमसम्म जाँदाखेरी गठबन्धन भित्र छलफल गरेर यसको हल हुन्छ।’’

सांसद सापकोटाले सरकारले भारतसँग रहेका असमझदारी हल गर्दै जानुपर्ने बताउनुभयो।