• १३ असोज २०८१, आइतबार

आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँ : सांसद गिरी

blog

नेपाली कांग्रेसका सांसद दीपक गिरी ।

काठमाडौं, जेठ २८ गते । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताउनुभएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद गिरीले भारतको तत्कालीन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताउनुभयो ।

तत्कालीन भारतमा कम्पनी सरकार रहँदा बेलुका ४ बजे घोषणा गर्नुको रहस्य इंल्याण्डमा बिहान १० बजेको हुने र ब्रिटिसहरूलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उहाँले बताउनुभयो । आगामी वर्षदेखि दिउँसो ४ बजे गर्नु नहुने उहाँको भनाइ छ ।

‘‘यो मुलुकमा सधैँ बजेट भाषणहरू बेलुका ४ बजे हुने । के कारण रहेछ त ४ बजे हुने भन्ने मैले पत्ता लगाएँ । किन बिहान १० बजे नहुने, किन १२ बजे नहुने । चाहे मल्टी पार्टी डेमोक्रेसी आएपछि होस्, चाहे गणतन्त्रमा आएपछि होस् मुलुकको बजेट ४ बजे हुने । कारण के रहेछ भनेर मैले यसो हेरेँ । जतिबेला भारतमा ब्रिटिस इण्डिया गर्भमेन्ट थियो, अथवा कम्पनी सरकारको गर्भमेन्ट थियो त्यतिबेला भारतको बजेट बेलुका ४ बजे भनिँदो रहेछ ।,’’ सांसद गिरीले भन्नुभयो, ‘‘कारण के भने इंल्याण्डमा बिहानको १० बज्दो रहेछ । त्यतिबेला त्यहाँको बजेट त्यहाँ ब्रिटिसहरूलाई सुन्नु जरुरी रहेछ । त्यो कारणले चलेको चलन यद्यपि नेपालमा चार बजे आयो । त्यो सुधार्नुपर्‍यो । म सबै सरकार पक्षीय, प्रतिपक्ष सबैलाई भन्छु । अब आउँदो हाम्रो बजेट चार बजे होइन, १० बजे आउनुपर्‍यो ।’’

उहाँले जो अर्थमन्त्री बन्छ उसले आफ्नो क्षेत्रमा मात्रै बढी बजेट लाने गरेको उल्लेख गर्दै जिल्लाहरूको न्यूनतम आवश्यकता अध्ययन गरेर मात्रै बजेट पठाउनुपर्ने बताउनुभयो । उहाँले सांसदहरूको कुनै हैसियत नभएको भन्दै आफूलाई झोले सांसदको संज्ञा दिनुभयो । उहाँले काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र साहले सांसदहरूलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिएको भन्दै साहलाई सलाम अर्पण गर्नुभयो ।