ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ २८ गते । प्रस्तावित शेरावेंशी–मुक्तिनाथ केबलकारले अन्नपूर्ण चक्रीय पदमार्ग सङ्कटमा पर्ने भन्दै पर्यटन व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । मुक्तिनाथ दर्शन प्रालिले पर्वतको मोदी गाउँपालिकाको शेरावेंशीबाट सुरु भई मुस्ताङको मुक्तिनाथसम्म केबलकारको परियोजना अगाडि बढाएको छ ।
हालै मात्र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा परियोजनाका तर्फबाट गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा पदयात्राका लागि विश्वमै परिचित अन्नपूर्ण चक्रीय पदमार्गलाई केबलकारले ठुलो असर पुर्याउने भन्दै यहाँका पर्यटन व्यवसायीहरूले चिन्ता व्यक्त गरेका हुन् । घोडेपानी, शिख, घार, नारच्याङ र दानाका पर्यटन व्यवसायीहरूले केबलकारले भविष्यमा पुर्याउन सक्ने फाइदा र बेफाइदाका बारेमा प्रष्ट पार्नुपर्ने बताएका छन् ।
मुक्तिनाथ दर्शन प्रालिले परियोजना विकासका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रयोजनार्थ स्थानीयसँग अघिल्लो हप्ता राय सुझाव सङ्कलन गरेको थियो ।
‘‘केबलकार आयोजनाले हाम्रो पर्यटन व्यवसाय सङ्कटमा पर्ने चिन्ता छ,’’ घोडेपानीकी पर्यटन व्यवस्थापन उपसमिति अध्यक्ष मिना पुनले भन्नुभयो, ‘‘समय छँदै केबुलकार आयोजनाबाट दीर्घकालीन रूपमा समुदायमा पर्न सक्ने लाभहानी बारे जनप्रतिनिधि र स्थानीय सरकारले पनि जनताको पक्षमा चासो राख्ने विश्वास गरेका छौँ ।’’ विश्वमै चर्चित अन्नपूर्ण चक्रीय पदमार्गलाई केबलकारले असर पुर्याउन नहुने उहाँको भनाइ छ ।
पुनले भन्नुभयो, ‘‘केबलकार व्यसायीहरुलाई राम्रो होइन । माथिमाथि केबलकारमा पर्यटक सिँधै मुक्तिनाथ पुग्छन् । अहिले सडक विस्तारले पर्यटन क्षेत्रलाई ठुलो असर पुगेको छ । भोली दिनमा केबलकार झन् ठुलो असर पुग्ने देखिन्छ ।’’
केबलकार परियोजनाले यहाँका पर्यटन व्यवसायी र स्थानीयहरूको विश्वास जितेर योजना अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । पर्यटकीय क्षेत्रहरूमा केबलकारको स्टेसन रहने कुराको ग्यारेन्टी गर्नुपर्ने उहाँले बताउनुभयो ।
मुक्तिनाथ जोड्ने ८० दशमलव १ किलोमिटर लामो शेराबेंशी–मुक्तिनाथ केबलकार आयोजनाले परम्परागत रूपमा चलिआएको पर्यटन व्यवसायलाई असर पुगे पनि यसले नयाँ पर्यटकीय सम्भावनाको ढोका खुल्ने मौरिस हर्जोग ट्रेक व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘केबलकार परियोजना अगाडि बढ्नु विकासका हिसाबले राम्रो पक्ष हो । पदमार्गलाई असर पुर्याउनु हुँदैन । केबलकारले यस क्षेत्रको नयाँ पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्दछ । सबै पर्यटकहरू केबलकार चढ्दैनन् । केबलकारले पैसावाला पर्यटकलाई यस क्षेत्रमा आकर्षित गर्दछ । जसको फाइदा पर्यटन व्यवसायीलाई हुन्छ ।’’
एक सय ५५ अर्ब लागत अनुमान गरिएको र विश्वको सबैभन्दा लामो केबलकार परियोजना भनिएको शेरावेंशी–मुक्तिनाथ केबलकार आयोजनाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत १ सय ७७ हेक्टर व्यक्तिगत खेतीयोग्य जग्गा र ३ सय ८२ हेक्टर वन क्षेत्र समेट्ने छ । केबलकारमा ७ सय ७० वटा डिब्बा रहने बताइएको छ ।
अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने कास्कीको विरेठाँटी, तिखेढुङ्गा, उल्लेरी म्याग्दीको घोरेपानी, शिख, घार, तातोपानी, दाना र मुस्ताङका घाँस, लेते, टुक्रे, मार्फा र जोमसोम क्षेत्रको पदयात्रालाई केबलकार परियोजनाले प्रभावित पार्ने सक्ने आङ्कलन गरिएको छ ।
‘‘केबुलकार सञ्चालन सम्बन्धमा पालिका स्तरमा गरिएको सार्वजनिक सुनुवाइलाई स्थानीय वडातहमा जनतासँग छलफल गरी समस्या र गुनासा सम्बोधन गरेपछि मात्र गाउँपालिकाले आयोजना स्वीकृति दिने/नदिने निर्णय गछौं’’ म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो ‘‘जनताको गुनासा र समस्या नसुनी आयोजनाहरूले राजनीतिक अगुवाहरूको मात्र समर्थन लिएर अघि बढ्दा भविष्यमा हुनसक्ने जोखिमको स्थानीय सरकारले जिम्मेवारी लिन सक्दैन । राज्यको तल्लो तह वडा हो, त्यहीँबाट सहमति लिएर आउनु पर्छ ।’’
शेरावेंशी–मुक्तिनाथ केबलकार पर्वतको मोदी गाउँपालिकाको शेरावेंशीमा सुरु स्टेसन रही कास्कीको अन्नपूर्ण गाउँपालिकाको उल्लेरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोरेपानी, शिख, घार, नारच्याङ र दाना तथा मुस्ताङका थासाङ, घरपझोङ र वारागुङमुक्ति क्षेत्र गाउँपालिकाका घाँस, लेते, टुक्रे, मार्फा, जोमसोम (ठिनी) कागवेनी हुँदै मुक्तिनाथ (रानीपौवा)मा अन्तिम स्टेसन हुने छ ।
आयोजनाले स्थानीय प्रमुख पर्यटकीय गन्तव्यहरूमा यात्रु ओर्लने र चढ्ने छुट्टै स्टेसन राखिने, एउटा टिकट सात दिनसम्म चल्ने भएकोले पदयात्रीले बिचका गन्तव्यहरू घुमफिरगरी समयमै केबलकार चढ्न सक्ने, केबलकारको स्टेसन, टावर रहने जग्गाको मुआब्जा दिने र स्थानीयलाई शेयर तथा रोजगारी ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएको अन्नपूर्ण गाउँपालिका, ६ घारका पूर्व वडाध्यक्ष कृष्ण बरुवालले बताउनुभयो ।
पर्वत, कास्की, म्याग्दी र मुस्ताङ जिल्लाका ६ वटा गाउँपालिका समेटिने केबुलकार परियोजनाको कास्कीको उल्लेरी, म्याग्दीको घोरेपानी, शिख, घार, नारच्याङ, रुप्से (काप्रेगाउँ) र मुस्ताङको घाँस, लेते, कोवाङ, टुक्रे, मार्फा, जोमसोम (ठिनी), कागवेनी, खिङ्गा र रानीपौवामा गरी १९ वटा स्टेसन रहने शेरावेंशी–मुक्तिनाथ केबलकार आयोजनाका फिल्ड संयोजक इन्जिनियर नवीन शाहीले बताउनुभयो ।
‘‘शेरावेंशी–मुक्तिनाथ केबलकार आयोजनाको विस्तृत डिपिआर तयार भई इआईए रिपोर्ट बनाउन प्रभावित क्षेत्रका जनतासँग रायसल्लाह सङ्कलन चरणमा छौँ । अब नेपाल सरकारसँग आयोजना विकास सम्झौता भएपछि जग्गा प्राप्ति, आर्थिक व्यवस्थापन र लगानीकर्ताको सुनिश्चितता गरी ठेकदार छनौट प्रक्रिया सुरु हुन्छ’’ आयोजनाका फिल्ड संयोजक शाहीले भन्नुभयो, ‘‘आयोजनाले स्थानीयवासीको चिन्ता र चासो सम्बोधन गर्ने छ । हिँड्न रुचाउने पर्यटकका लागि केबलकारले कुनै असर पुर्याउँदैन बरु हिँड्न नसक्ने पर्यटकलाई घोडेपानी समेतका पर्यटकीय गन्तव्यमा पुग्न मद्दत नै गर्ने छ ।’’
केबलकारको एउटा टिकटको समय एक हप्ताको हुने छ । टिकट लिएर सुरु स्टेसनबाट चढेको यात्रु बिचको स्टेसनबाट ओर्लेर कुनै गन्तव्यमा पैदलयात्रा गरी एक हप्ता भित्र केबलकार लाइनका कुनै पनि स्टेसनबाट चढेर अन्तिम गन्तव्यमा पुग्न सक्ने सुविधा रहने भएकाले पर्यटन व्यवसायलाई टेवा पुग्ने मुक्तिनाथ दर्शन प्रालिले जनाएको छ ।