काठमाडौँ, जेठ २८ गते । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र सफाइका लागि आयोजना गरिएको अन्तरकलेज सफाइ प्रतियोगितामा समृद्धि कलेजले पहिलो स्थान हासिल गरेको छ। गत वैशाख ९ देखि सुरु भएको प्रतियोगितामा जया मल्टिपल कलेज दोस्रो र इम्पेरियल बिजनेस कलेजले तेस्रो स्थान हासिल गरेका छन्।
प्रतियोगितामा पहिलो हुने समृद्धि कलेजले एक लाख, दोस्रो हुने जया मल्टिपल कलेजले ५० हजार तथा तेस्रो हुने इम्पेरियल बिजनेस कलेजले २५ हजार रुपियाँ नगद तथा कदरपत्र प्राप्त गरे। ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नारासाथ नेपालमा पहिलो पटक आयोजना गरिएको नेपाल टेलिकम क्लिन अप प्रिमियर लिग–२०२३ प्रतियोगितामा उपत्यकाका १५ वटा कलेजको सहभागिता थियो। विश्व वातावरण दिवस तथा पृथ्वी दिवसका अवसरमा मैनादेवी फाउन्डेसनले आयोजना गरेको प्रतियोगिता जेठ २२ सम्म सञ्चालन भएको थियो।
शनिबार प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले वातावरण संरक्षणमा युवा वर्गले गरेको प्रयास अनुकरणीय र अतुलनीय रहेको बताउनुभयो। प्रदूषणका कारण विभिन्न प्रकारका वतावरणीय समस्या बढ्दै गएको धारणा व्यक्त गर्दै उहाँले स्वच्छता तथा हरियाली अभियानलाई मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले वातावरण सफाइमा सहभागी विद्यार्थीलाई कदरपत्र तथा पुरस्कार वितरण गर्दै विद्यार्थीले वातावरण स्वच्छताका लागि गरेको मौलिक प्रयासको प्रशंसा गर्नुभयो।
उहाँले घरबाहिर जथाभाबी फोहोर फ्याँक्ने प्रवृत्तिले वातावरण र समाज स्वच्छ नहुने धारणा व्यक्त गर्दै कलेजमा अध्ययनरत विद्यार्थीले वातावरण संरक्षणमा गरेको प्रयासबाट सिङ्गो समाजले पाठ सिक्नुपर्ने बताउनुभयो। सुन्दर, स्वच्छ र हरियाली राष्ट्रको परिकल्पना गरी नेपालमा पहिलो पटक सफाइ अभियानलाई प्रतियोगिताका रूपमा आयोजना गरिएको आयोजक मैनादेवी फाउन्डेसनले जनाएको छ।
आयोजक संस्था मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनाल, साउथ वेस्टर्न स्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसी नेपाल टेलिकमका प्रबन्धक नीरा डङ्गोल, मिस नेपाल अर्थ डा. सरिसा श्रेष्ठलगायतका वक्ताले अवसर भविष्यका कर्णाधार युवा वर्गले जस्तोसुकै चुनौती सामना गर्न सक्षम हुनुपर्ने विचार व्यक्त गर्नुभयो।