• १४ मंसिर २०८१, शुक्रबार

पार्टीको विचार र सिद्धान्तमा प्रतिबद्ध बनौं : नेता श्रेष्ठ

blog

कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठ ।

रमेश विश्वकर्मा

गुल्मी, जेठ २७ गते । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टीको विचार र सिद्धान्तप्रति सबै प्रतिवद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । काँग्रेस प्रशिक्षण शाखा गुल्मीले शनिबार आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै काँग्रेसको लुम्बिनी प्रदेश प्रशिक्षण विभागका प्रमुख समेत रहनुभएका उहाँले पार्टीको विचार, सिद्धान्तको बारेमा सबैलाई जानकारी गराउन जरुरी रहेको बताउनुभयो । 

“लोभमा लागेर पार्टीको सिद्धान्त र आदर्शलाई पार्टी नेतृत्वले बिर्सन सक्छ” उहाँले भन्नुभयो, “सत्ता र भत्ताको काँग्रेस होईन, अब्बल र बलियो काँग्रेस निर्माणका लागि सबै जुट्न आवश्यक छ ।” पार्टीका हरेक गतिविधिलाई व्यवहारमा लागू गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 

गुट चिन्ने होइन, रुख चिन्ने काँग्रेस निर्माण गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने उहाँको सुझाव छ । काँग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् गुल्मी जिल्लाका समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले नेतृत्व अध्ययनशील हुनुपर्ने बताउनुभयो । 

काँग्रेस गुल्मीका सभापति एवम् रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले पार्टीको अनुशासनलाई ख्याल गर्नुपर्ने बताउनुभयो । दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा स्थानीय तहका पार्टी प्रतिनिधि, काँग्रेसको जिल्ला प्रशिक्षण शाखा, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।