अमरराज नहर्की
तनहुँ, जेठ २७ गते। नेपाली कांग्रेसका युवा नेता प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले युवा नेतृत्व आजको राजनीतिमा आवश्यक भएको बताउनुभएको छ। नेपाल रेडक्रस सोसाइटी तनहुँको आयोजनामा दमौलीमा गरिएको युवाको नेतृत्व विकास प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
युवाले समय अनुसार विकासको गतिलाई नेतृत्व दिनसक्ने भएकाले युवालाई राजनीतिमा स्थान दिनुपर्ने पौडेलको भनाइ थियो। पार्टीभित्रको दुई प्रकारको सदस्यताले गर्दा युवालाई राजनीतिक नेतृत्व लिन कठिनाइ भएको उहाँले बताउनुभयो।
केन्द्रीय सदस्य हुन क्रियाशील सदस्य लिएको १५ वर्ष, सभापति हुन २० हुनुपर्ने प्रावधान हटाउनु पर्ने नेता पौडेलले बताउनुभयो। प्रतिस्पर्धा गर्ने, राजनीति योगदानको आधारमा नभई क्षमताको आधारमा हुनुपर्ने पौडेलले बताउनुभयो।
नेता पौडेलले भन्नुभयो, ‘‘सांसद तीन पटक, मन्त्री बन्न दुई पटक पदीय अवधि तोकियो भने मात्रै पुस्तान्तरणको प्रक्रिया अघि बढ्न सक्छ’’। समानुपातिक सांसद बन्न एउटै मान्छेलाई पटकपटक अवसर दिन नहुने नेता पौडेलको धारणा थियो। पौडेलले प्रश्न गर्दै भन्नुभयो, ‘‘समानुपातिकबाट चार पटक सांसद हुन मिल्छ, त्यो त भुईँ मान्छेलाई लैजाने हैन ? मन्त्री भइसकेको मान्छेले समानुपातिकमा राख्ने, पैसा हुनेले मात्रै टिकट पाउने अवस्थाको अन्त्य हुनुपर्छ ।’’
युवालाई पदमा पुग्ने अवसरका बाँधा हटाउन युवाले दबाब दिनुपर्ने पर्ने र यसलाई मुद्दा बनाउनु पर्ने पौडेलले बताउनुभयो। देशमा युवा जनशक्तिलाई यही राख्न नसकेकोले देश विकासमा पछि परेको पौडेलले बताउनुभयो ।
कृषि क्षेत्रलाई २५ प्रतिशत लगानी गरेर युवालाई कृषिलाई आकर्षित गर्नुपर्ने सुझाव उहाँको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी, छविलाल रिजाल, रेडक्रस तनहुँको सभापति प्रा.डा.कृष्णप्रसाद गौतम, गण्डकी प्रदेशका महासचिव रामभक्त पौडेल, तनहुँ शाखाका उपसभापति नारायणी अधिकारीलगायतले समाजसेवाको भावना विकास गर्न सकेमात्रै देशको विकास हुने बताउनुभयो।
प्रशिक्षण कार्यक्रममा २६ जिल्लाका ३० जना रेडक्रस सोसाइटीमा आबद्ध युवाको सहभागिता रहेको छ।