• २५ वैशाख २०८१, मङ्गलबार

सरकारको स्पष्ट गन्तव्य देखिएन : अध्यक्ष ओली

blog

पालिका भवनको उदघाटन कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, जेठ २६ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको स्पष्ट गन्तव्य नदेखिएको बताउनुभएको छ । आँधीखोला गाउँपालिकाको नबनिर्मित भवनको शुक्रबार यहाँ उद्घाटन गर्दै ओलीले सो कुरा बताउनुभएको हो ।  

दश पार्टी मिलेर बनेको सरकार कामभन्दा पनि हल्ला बढी गरेको उहाँको आरोप छ ।  पुर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको तीन वर्षमा विकासमा ठुलो फड्को मारेको जिकिर गर्नुभयो । 

सरकारले जनताको ढाड सेकाउने काम गरेको बताउँदै ओलीले भन्नुभयो, “निरास नहुनुस् एमालेले मुलुकलाई विकास तथा समृद्धिको बाटोमा ल्याइ छाड्नेछ ।” प्रधानमन्त्रीको भारतीय भ्रमण सफल नभएको टिप्पणी गर्दै उहाँले लिम्पियाधुरा, कालापानी, लिपुलेक मिचिएको भूभागबारे कुरा उठाउन नसकेको उहाँले आरोप लगाउनुभयो ।  

एमाले सधैं प्रतिपक्षमा बस्ने पार्टी नभएको बताउँदै अध्यक्ष ओलीले प्रतिपक्षमा मात्र बस्ने कसम नखाएको चर्चा गर्नुभयो । सत्ताका लागि एमाले मरिहत्ते नगर्ने र देश बनाउन सरकारमा जाने उहाँको भनाइ छ । 

त्रेतायुगबाट आँधिखोला गाउँपालिकाको इतिहास रहेको बताउँदै अध्यक्ष ओलीले चार हजार वर्षको इतिहासलाई पालिका भवनले पहिचान गरेको बताउनुभयो । आफू २०४२ मा स्याङ्जा जेल बस्दाको स्मरण गर्दै उहाँले अहिले स्याङ्जा विकासमा फड्को मारेको बताउनुभयो ।

यहाँका गाउँमा मोटर बाटो, बिजुली बत्ति, खानेपानी पुगेको बताउँदै पूर्वाधार, स्वास्थ्य, शिक्षाका लागि आफू प्रधानमन्त्री भएका बेला सहयोग गरेको उहाँले दाबी गर्नुभयो । आफूले एकै दिन ३९६ योजनाको शिलन्यास गरेको बताउँदै वर्तमान सरकारले बजेट कटौती गरेर विकास रोकेको आरोप लगाउनुभयो ।  

यस्तै, गण्डकी प्रदेश सांसद तथा निवर्तमान गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेल, पालिका अध्यक्ष बिश्व पौडेल, उपाध्यक्ष देबी थापालगायतले मन्तब्य राख्नुभएको थियो । आँधिखोला गाउँपालिकाको कृषिमा २७ रोपनी क्षेत्रफलमा पाँच करोड ६४ लाख ४२ हजार रुपियाँको लागतमा निर्माण गरिएको हो ।  

२०७३ सालमा देश संघीयतामा गएसँगै नयाँ भवनको आवश्यकतालाई परिपूर्ति गर्न २०७६ जेठ १० गते देव एण्ड सागर क्याराभान जेभीले सम्झौता गरेर भवन निर्माण थालेको थियो । ३४ कोठा र दुई हलसहित रहेको भवन चार तलाको बनेको छ । सो अवसरमा जग्गा दातालाई सम्मानित गरिएको छ । 

यस्तै, शुक्रबार अध्यक्ष ओलीले कालिगण्डकी गाउँपालिका भवनको समेत उद्घाटन गर्नुभयो । कालिगण्डकी गाउँपालिका श्यामसुन्दर निर्माण सेवाले सात करोड ७० लाखमा २२ कोठाको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । निर्माण सेवाले २०७७ असार ३० गते दुई बर्षमा सक्नेगरी सम्झौता गरेको भए पनि निर्माण केही ढिलोगरी सम्पन्न भएको हो ।