सञ्चालनमा आएन ६५ लाखको थ्री डी पार्क
तिलाचन पाण्डे
तम्घास,जेठ २५ गते । सरकारलाई खबरदारी गर्ने तम्घासको लाँकुरी मञ्चको नाममा प्रचलित स्थानमा रहेको लाँकुरी ढलेको करिब पाँच वर्ष भयो । त्यो समयमा गुल्मेली जनताले सरकारलाई खबरदारी गर्नका लागि सो मञ्चलाई प्रयोग गर्थे र नजिकै रहेको जिल्ला अदालत, जिल्ला प्रशासन ,जिल्ला समन्वय र सरकारी कार्यालयहरूले सहजै सुन्थे ।
तर त्यो लाँकुरी मञ्चमा रहेको लाँकुरीको रुख ढलेपछि यस स्थानमा रुख नरोपी थ्री डी पार्क निर्माण गर्ने रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधिहरूले निर्णय गरेर निर्माण भयो । निर्माण भएको लामो समयसम्म सञ्चालनमा नआए पनि बिच बिचमा सञ्चालनमा ल्याए जस्तो गरी झारा टाल्ने काम भयो । तर यस पार्क अहिले सञ्चालनमा छैन ।
पार्कको गेटमा ताला लगाए पनि बालबालिकाहरूले बाहिरी भागबाट प्रवेश गर्ने र पार्कको संरचनामा मनलाग्दी चलेको छ । उनीहरूले पार्कको भित्री भागमा जम्मा भएको पानीमा पौडी खेल्ने र संरचनाहरूमा तोडफोड समेत गर्न थाल्दा नगरपालिकाले पार्क संरक्षणमा कुनै चेष्टा दिएको छैन ।
२०७५ सालमा रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेशको ५०-५० प्रतिशत साझेदारीमा ५५ लाख र समय समयमा मर्मत गर्दा करिब १० लाख गरी ६५ लाख रुपियाँको लागतमा निर्माण गरिएको पार्क यसै अलपत्र छ । सो पार्कमा अहिले बालबालिकाहरूको संरचनामा मनलाग्दी रजाइँ चलेको छ । यसबाट सरकारी लगानी बालुवामा पानी भन्ने उखानलाई स्पष्ट पारेको देख्न सकिन्छ ।
पहिले लाँकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचान नै अहिले गुमेको छ । लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु र संरक्षणमा ध्यान नदिनु दुःखद पक्ष भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताउनुभयो ।
उहाँले विभिन्न सङ्घ संस्था, सङ्गठन र दलहरूले सरकारको अगाडि उभिएर सरकारलाई नै खबरदारी गर्ने वर्षौँको इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटङ्की गरिएको आरोप लगाउनुभयो । पाण्डेले पार्कलाई पहिलेकै लाँकुरी मञ्चमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।
यता रेसुङ्गा नगरपालिका प्रमुख खिल ध्वज पन्थीले बनेको संरचनालाई संरक्षण गर्नु आफूहरूको दायित्व भएको बताउनुभयो । उहाँले धेरै नगरवासीहरुले पहिलेको लाँकुरी मञ्च चाहियो भनेर माग गर्नुभएको भन्दै बनेका संरचनाहरूलाई खेर फाल्न नहुनेमा जोड दिनुभयो ।
अघिल्लो जनप्रतिनिधिहरूले बनाएको पार्कलाई सञ्चालनमा ल्याउन आफू तयार रहेको र नगरवासीहरूको मागलाई पहिलेकै जनप्रतिनिधिहरूले निर्माण गर्ने समयमा सोच्नुपर्ने उहाँको तर्क छ ।