• ६ जेठ २०८१, आइतबार

ग्रामीण भेगका सडक निर्माण तीव्र

blog

बर्दिबास समाचारदाता

बर्दिबास, जेठ २५ गते । आर्थिक वर्ष सकिने क्रम नजिकिएसँगै स्थानीय तहहरूले विकास निर्माणका कामलाई तीव्रता दिन थालेका छन् । वर्षा लागेपछि आवागमनमा कठिनाइ हुने र नदीजन्य पदार्थको समेत अभाव हुने भएकाले ग्रामीण क्षेत्रमा पूर्वाधार निर्माणले गति लिएको हो । 

बर्दिबास नगरपालिकामा नयाँ सडकको ट्र्याक खोल्ने, ग्राभेल र कालोपत्रे गर्ने काम अहिले द्रुत गतिमा अघि बढेको छ । नगर प्रमुख प्रह्लाद क्षेत्रीले समपूरक कोष अन्र्तगत सङ्घ र प्रदेशको बजेटबाट निर्माणाधीन यी सडक असार मसान्तअगावै सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको बताउनुभयो । कामको गुणस्तरलाई लिएर कतिपयले आशङ्का गरे पनि यसप्रति नगरपालिका सचेत र सतर्क रहेको बताउँदै उहाँले भन्नुभयो, “त्यसमा दायाँबायाँ गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’’

नगरपालिकाको पूर्वाधार विकास शाखाका अनुसार अहिले नगर क्षेत्रका विभिन्न वडामा गरी साढे पाँच फिट चौडाइ र साढे सात किमी लम्बाइका ग्रामीण सडक प्रिमिक्स कार्पेट बिछ्याउने काम तीव्र गतिमा अघि बढेको छ । चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने गरी सात करोड ४५ लाख रुपियाँमा सम्झौता भएका यी सडक फराकिलो गर्ने, बेस र सब बेस बिछ्याउनेलगायतका काम सकिएको र कालोपत्रे गर्ने प्राइम बिछ्याउने काम भइरहेको शाखा इन्जिनियर शिवेशकुमार सिंहले बताउनुभयो । 

यसै अन्तर्गतको बर्दिबास–१०, खयरमारास्थित विद्युत् चोकदेखि बुढा खोल्सीसम्म एक किलोमिटर २५० मिटर लम्बाइको सडकमा कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनी मनासलु इनर्जी प्रालि, त्रिवेणी कन्स्ट्रक्सन र धनुषाधाम निर्माण सेवा जेभीले ६९ लाख रुपियाँमा ठेक्का लिएको यो सडकको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । ठेकेदार जीवनराज भण्डारीले जेठभित्रै योजना सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको बताउनुभयो । 

यो सडक कालोपत्रे भएपछि बिरामी, विद्यार्थी र दुध एवं फलफूल उत्पादक किसानलाई सहज हुने स्थानीय समाजसेवी पोषण थापाले जनाउनुभयो । त्यसै गरी पर्यटनको केन्द्रमा रहेको पूर्वपश्चिम लोक मार्गदेखि टुटेश्वर र माईस्थान मन्दिरसम्मका धार्मिक मार्ग, गौशाला चोकदेखि ईश्वर मावि जोड्ने सडक, हात्तीलेट पोखरी डिलदेखि धामी टोल पुग्ने बाटो र पशुपतिनगरलाई ९ नम्बर वडा जोड्ने सडकमा पनि धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको छ । विकासको पहुँचबाट वञ्चित तथा जिल्लाकै दुर्गममा मानिएको विभिन्न वडाका सुदूर भेगमा सडकको ट्र्याक खोल्ने कामलाई अघि बढाइएको छ भने १४ वटै वडाका छनोटमा परेका सडकमा ग्राभेल गर्ने काम पनि अन्तिम चरणमा पुगेको सम्बद्ध वडाका वडाध्यक्षले बताउनुभयो ।