• १२ वैशाख २०८१, बुधबार

नेपालगन्जमा सुक्खा बन्दरगाह सञ्चालनपछि व्यवसायी उत्साहित

blog

सिराज खान 

नेपालगन्ज, जेठ २५ गते । बाँकेलगायत पश्चिम नेपालको आर्थिक विकासका लागि अत्यधिक महत्त्वपूर्ण मानिएको नेपालगन्ज सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् । 

लामो प्रतीक्षापछि निर्माण सम्पन्न भई यहाँस्थित सीमानाकाको रुपैडिहा र नेपालगन्जमा संयुक्त रूपमा सञ्चालनमा आएको सुक्खा बन्दरगाहले आर्थिक विकासमा ठुलो सहयोग पुग्ने उद्योगी व्यवसायीको विश्वास छ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी अब्दुल वाहिद मन्सुरीले सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएपछि पश्चिम नेपालका उद्योगी व्यवसायीको वर्षौंदेखिको सपना पूरा भएको बताउनुभयो । 

उहाँले गत लामो समयदेखि यो बन्दरगाह छिटो निर्माण गर्न आफूहरूले दबाब दिँदै आएको जनाउँदै अहिले आएर धेरै वर्ष पहिलेदेखिको सपना पूरा भएकाले अब यस क्षेत्रको उद्योग व्यवसायले नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । 

सोही प्रकारले नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी कृष्णप्रसाद श्रेष्ठले पनि अब यस क्षेत्रका व्यवसायीले आयात निर्यातका लागि अन्य ठाउँमा भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो सुक्खा बन्दरगाह हामी सबैको सपना थियो, जुन अहिले आएर पूरा भएको छ । अब यस क्षेत्रमा निर्यातजन्य उद्योग व्यवसाय बढाउन सबै मिलेर लाग्नु पर्छ ।” 

नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्क शर्माले यो बन्दरगाहले सबैभन्दा बढी लाभ जडीबुटी व्यवसायीलाई हुने बताउनुभयो । उहाँले अब जडीबुटी निर्यातलाई सहज र सरल बनाउनतर्फ सरकारले ध्यान दिनुपर्ने माग पनि गर्नुभयो । 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले अब आयात निर्यात निकै सहज हुने जनाउँदै यसबाट उद्योग व्यवसाय फस्टाउने विश्वास व्यक्त गर्नुभयो । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले सुक्खा बन्दरगाह निर्माणका लागि आफू सङ्घको अध्यक्ष भएका बेला सबैभन्दा बढी दबाब दिएको स्मरण गर्दै अहिले आएर सञ्चालनमा आउँदा यस क्षेत्रको आर्थिक विकासमा एउटा ठुलो सफलता प्राप्त हुने बताउनुभयो ।