• १५ चैत २०८०, बिहिबार

मिडियामा बालबालिकासम्बन्धी ६ प्रतिशत मात्र समाचार

blog

अध्ययन अनुसन्धानबारे जानकारी दिनुहुदै वरिष्ठ पत्रकार डा. कुन्दन अर्याल । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, जेठ २३ गते । नेपाली मिडियामा ६ प्रतिशत मात्र बालबालिकासम्बन्धी समाचारजन्य विषयवस्तु समेटिनेगरेको एक अध्ययनले देखाएको छ । नेपालका ठुला पाँच छापा मिडिया र तीन अनलाइन मिडियाका ११ हजार ५३० वटा प्रकाशित समाचार, लेख, सम्पादकीय र अन्तर्वार्ता अनुसन्धान अध्ययन गर्दा सो तथ्याङ्क फेला परेको हो ।

चाइल्ड नेपालले मंगलबार जनकपुरधाममा आयोजना गरेको नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्थासम्बन्धी अन्तरक्रियामा प्रमुख अनुसन्धानकर्ता डा. कुन्दन अर्यालले प्रस्तुत गर्नुभएको नेपालमा बालमैत्री मिडिया अनुसन्धानमा सो तथ्याङ्क देखिएको हो । अध्ययन अनुसन्धानमा समेटिएको ११ हजार ५३० वटा समाचार, लेख, सम्पादकीय र अन्तर्वार्तामध्ये ६७१ वटा (६ प्रतिशत) मात्र बालसम्बन्धी विषयवस्तु पाइएको उहाँले बताउनुभयो । 

बालसम्बन्धी प्रकाशित ६७१ विषयवस्तुमध्ये ३३ प्रतिशत पूर्णरुपमा बालबालिकाको विषयमा केन्द्रित रहेको पाइएको छ । २२ प्रतिशत आंशिक, र ४५ प्रतिशत सामान्य रूपमा उल्लेख गरिएको अनुसन्धान अध्ययनमा देखिएको उहाँको भनाइ छ । अध्ययन अवधिमा एक हजार ३७६ वटा प्रकाशित लेखमा १० प्रतिशत (१३८ वटा) बालबालिकासम्बन्धी सामग्री रहेको पाइएको छ । 

यसैगरी, २६२ सम्पादकीयमध्ये ३२ वटा अर्थात् १२ प्रतिशत सम्पादकीय बालबालिकाको विषयमा केन्द्रित रहेको छ । सम्पादकीयमा ३४ प्रतिशत बालशिक्षा, १३ प्रतिशत दुरुपयोग र शोषण, १३ प्रतिशत स्वास्थ्य, तीन प्रतिशत महामारी र तीन प्रतिशत विपद् र दुर्घटनासम्बन्धी सामग्री रहेको छ । 

यस्तै, अनलाइन पोर्टलका स्टोरीमा ४४ प्रतिशत बाल संरक्षण, २३ प्रतिशत बालअधिकार, १९ प्रतिशत बालविकास, र तीन प्रतिशत बाल सहभागिताको विषयवस्तु समेटिएको उल्लेख छ । त्यस्तै, छ प्रतिशत बालविवाह, ५७ प्रतिशत घटना दुर्घटना, २९ प्रतिशत सान्दर्भिक रिपोर्टिङ् र १४ प्रतिशत प्रेस विज्ञप्ति र रिपोर्टमा आधारित रहेको छ । 

अनलाइन स्टोरीका २१ प्रतिशत महामारी, १७ प्रतिशत शिक्षा, १४ प्रतिशत विपद् दुर्घटना, १३ प्रतिशत दुरुपयोग, ११ प्रतिशत स्वास्थ्यसम्बन्धी विषयवस्तु समेटिएको अनुसन्धानले देखाएको छ ।

चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले भौतिक पूर्वाधार निर्माणको योजनाभन्दा मानवीय विकास राष्ट्र गौरव बन्नु पर्नेमा जोड दिनुभयो । बालबालिका भविष्यको कर्णधार मात्र होइन, आजको नागरिक हो भन्ने कुरा स्थापित भइसकेकाले बोलाइमा पनि परिवर्तनको आवश्यकता औँल्याउनुभयो । 

सन् २०२२ मा गरिएको अध्ययन अनुसन्धानमा गोरखापत्र, कान्तिपुर, नागरिक, नयाँ पत्रिका र अन्नपूर्ण पोष्ट, अनलाइन खबर डटकम, रातोपाटी डटकम, र सेतोपाटी डटकम अनलाइन पोर्टललाई समावेश गरिएको कार्यक्रम संयोजक यमबहादुर चौधरीले जानकारी दिनुभयो । बालबालिकाको संवेदनशीलताको सबालमा मिडिया कमजोर देखिएको अध्ययनको निष्कर्ष रहेको उहाँले बताउनुभयो ।