• ११ मंसिर २०८१, मङ्गलबार

‘ग्रीन स्कूल’ को अवधारणा जरुरी

blog

काठमाडौँ, जेठ २३ गते ।  जलवायु परिवर्तनका प्रमुख समस्या र ग्रामीण समुदायमा पर्ने असरबारे सहभागिहरु  ‘ग्रीन स्कूल’ अवधारणा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोइड), विकास शिक्षा विभागले आयोजना गरेको ‘ग्रीन स्कुलः एजुकेशन फर सस्टेनेबल प्लानेट’ कार्यक्रममा सहभागीहरुले अहिलेको हरित विद्यालयमा भविष्य सुरक्षित गर्न र ग्रहलाई दिगो बनाउन यसमा लगानी अन्तिम विकल्प  भएको बताउनुभयो । 

ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले पर्यावरणलाई केन्द्रमा राखेर विकास र रूपान्तरणका अवसर खोज्न स्थानीयदेखि नै पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी नीति, योजना र बजेटमा ललितपुरमा ‘ग्रीन स्कुल’ अवधारणा ल्याउन महानगरले नीति तथा कार्यक्रम समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

त्यस्तै कार्यक्रममा शिक्षा तथा मानव संशाधन विकास केन्द्रका उपमहानिर्देशक रुद्र अधिकारीले ‘ग्रीन स्कूल – नीति, अभ्यास र अगाडिको बाटो’ सत्रमा ‘हरियो विद्यालय’लाई स्वच्छ, स्वस्थ, सुरक्षात्मक र हरियाली वातावरण सिर्जना गर्ने विद्यालयका रूपमा परिभाषित गर्नुभएको थियो । 

सेभ द चिल्ड्रेनका डा.लक्ष्मी पौडेल, डब्ल्यूडब्ल्यूएफका घनश्याम गुरुङ, युनेस्कोबाट प्रकृति गुरुङ, युनिसेफकी सबिना जोशी, नर्वेजियन दूतावासकी निकिता धवन, फिनल्याण्डको दूतावासबाट टुओवी लेप्पामेन र एक्सन नेपालका रोजी घिमिरे सम्मिलित विज्ञहरुले यसको महत्वबारे प्रकाश पार्नुभएको थियो । 

त्यसैगरी ‘शिक्षा र जलवायु परिवर्तनः अन्तर्राष्ट्रिय अनुभव र पाठ’ विषयमा पाकिस्तान, अष्ट्रेलिया, भारत र बंगलादेशका सहभागिहरुले शिक्षा र जलवायु परिवर्तनको अन्तर–अनुशासनात्मक क्षेत्रमा देश–विशिष्ट सिकाइ साझा गर्नुभएको थियो । ‘अन्डरस्ट्यान्डिङ ग्रीन स्कुल–थ्योरी एण्ड प्राक्टिस’ बारे रिजु ढकाल, सन्दीप श्रेष्ठ, टिना सिल्पकार, रविना महर्जन र सञ्जीवनी योञ्जनलगायतले आ–आफ्नो प्रस्तुति दिनुभएको थियो ।