गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २२ गते । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री उमाकान्त चौधरीको माता मदेशिया थरुनीको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । सो दलले आज विज्ञप्ति जारी गर्दै थरुनीको निधनप्रति शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको हो ।
सहमहामन्त्री चौधरीको माता थरुनीको आज बिहान २ बजे बाराको क्षेत्र नं. १ कोल्हबी नगरपालिका -११ स्थित निवासमै निधन भएको सो दलले जनाएको छ । वि.सं. २००३ मा जन्मनुभएकी थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले स्मरण गरेको छ ।
शोक वक्तव्यमा पार्टी सभापति शेरबहादुर देउवाले थरुनीको निधनले एक अग्रज व्यक्तित्व गुमाउनुपरेको बताउनुभएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “थरुनीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिर शान्तिको कामनासाथ पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीलगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”