• १३ वैशाख २०८१, बिहिबार

भारतबाट मुर्रा राँगा ल्याउने प्रक्रिया सुरु

blog

काठमाडौँ, जेठ २२ गते । भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणका क्रममा नेपाललाई मुर्रा जातका राँगा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । भारतसँग पाँच वर्षअगाडि नै यससम्बन्धी सहमति भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सन् २०१८ मा नेपालमा भएको नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्यसमूहको बैठकमा सो निर्णय भएको थियो । 

सो निर्णय अनुसार भारत सरकारसँग ३० वटा उच्च प्रजननमानका मुर्रा राँगा उपलब्ध गराउन अनुरोध भएको थियो । कृषि मन्त्रालयका प्रवक्ता डा प्रकाश सञ्जेलले सन् २०२० जुनमा भारतका मत्स्यपालन, पशुपालन तथा डेरी मन्त्रालयसँग उच्च प्रजननमान भएका बिउ राँगा आपूर्तिका लागि औपचारिक रूपमा प्रस्ताव गरिए अनुसार नेपालले निर्धारण गरेको प्राविधिक मापदण्डबमोजिमको १५ वटा उच्च नश्लका मुर्रा जातका राँगा उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको बताउनुभयो । 

भारतबाट प्राप्त गरिने उच्च नश्लका राँगो वस्तुगत सहायता स्वरूप निःशुल्क हुने कृषि मन्त्रालयले जनाएको छ । हुन त कृषि मन्त्रालयले मुर्रा जातका राँगा किनेर भए पनि भारतबाट ल्याउने तयारी गरेको थियो । सोही अनुसार छलफल पनि अगाडि बढेको थियो तर भारत सरकारले रकम लिएर राँगो नदिने बरु वस्तुगत सहायतास्वरूप निःशुल्क नै उपलब्ध गराउने भनेपछि यो प्रव्रिmया अगाडि बढेको पशु सेवा विभागका प्रवक्ता डा चन्द्र ढकालले बताउनुभयो । 

यसको प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिकहरू भारतस्थित सम्बन्धित सरकारी फार्ममा जाने तयारी भइरहेको बताउँदै प्रवक्ता सञ्जेलले प्राविधिक पक्ष टुङ्गिएपश्चात् भारतीय पक्षबाट नेपालको भन्सार नाकासम्म ती उच्च प्रजननमानका मुर्रा राँगा उपलब्ध हुने जानकारी दिनुभयो । 

यसरी प्राप्त राँगाहरूलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगन्ज र लहानमा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृत्रिम गर्भाधान कार्यका लागि कृषकलाई उपलब्ध गराइने कृषि मन्त्रालयले जनाएको छ । 

भारतबाट प्राप्त हुने राँगाबाट तीन वर्षपछि वार्षिक कम्तीमा डेढ लाख डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दुध उत्पादनमा उल्लेख्य वृद्धि हुने कृषि मन्त्रालयले जनाएको छ । भारतमा यो मुर्रा जातको एउटा भैँसीले वार्षिक तीन हजारदेखि ३५ सय लिटरसम्म दुध दिने गरेको छ । नेपालमा पनि २५ सयदेखि तीन हजार लिटर दुध दिन सक्ने अनुमान गरिएको छ । 

२०३० पनि मुर्रा जातका राँगो भारतबाट ल्याइएको थियो । त्यस जातको भैँसीबाट वार्षिक एक हजार पाँच सयसम्म दुध दिएको तथ्याङ्क रहेको पशु सेवा विभागका प्रवक्ता ढकालले बताउनुभयो । पहिला ल्याएको नश्ल पुरानो भएको छ, त्यसलाई सुधार गर्नका लागि अहिले नयाँ नश्लको राँगो ल्याउन लागेको उहाँले बताउनुभयो । भारतले मुर्रा राँगा उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेपछि नेपालका तर्फबाट ल्याउने प्रक्रिया सुरु गरिसकिएको उहाँले बताउनुभयो ।