• ४ वैशाख २०८१, मङ्गलबार

मकवानपुरको चार पालिकामा विद्यालय बन्द

blog

तस्विरः मकवानपुरको बकैया गाउँपालिका ।

राममणि दाहाल

हेटौँडा, जेठ २१ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका सहित चार पालिकाले अत्यधिक गर्मीको कारण देखाउँदै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । हेटौँडा उपमहानगरपालिका सहित बकैया गाउँपालिका, मनहरी र मकवानपुरगढी गाउँपालिकाले गर्मीका कारण विद्यार्थीमा स्वास्थ्य समस्या आएको भन्दै पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् ।

हेटौँडा उपमहानगरपालिकाले विगत केही दिनदेखि तापक्रम अत्यधिक वृद्धि भई दैनिक जनजीवनमा प्रत्यक्ष असर परिरहेको र त्यसको असर शिक्षण सिकाइमा समेत परेको भन्दै आइतबारबाट शुक्रबारसम्म उपमहानगरअन्तर्गतका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द रहने जनाउनुभएको छ ।

यसअघि हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले विद्यालय बन्द गर्नेबारेमा निर्णय गर्ने अधिकार वडा कार्यालयलाई दिएको जानकारी दिनुभएको थियो । बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले सूचना प्रकाशित गर्दै जेठ २१ गतेबाट २७ गतेसम्म वर्षे बिदामा मिलान हुनेगरी पालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बिदा दिने निर्णय भएको बताउनुभयो ।  

यस्तै, मकवानपुरगढी गाउँपालिकाले आइतबार एक सूचना जारीगरी सोमबारबाट शुक्रबारसम्म पालिकाभित्रका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको जनाएको छ । उता मनहरी गाउँपालिकाले आइतबारबाट विहानी कक्षा सञ्चालन गर्नेगरी शुक्रबार निर्णय गरेकोमा आइतबार निर्णय परिवर्तन गर्दै सोमबारबाट शुक्रबारसम्मका लागि बिदा दिने निर्णय भएको छ । 

पालिकाहरुले हिउँदे वा वर्षे बिदाबाट बिदा मिलान हुनेगरी बिदा दिने निर्णयभएको जनाएका छन् । साथै बिदाको समयमा बालबालिकालाई रचनात्मक कार्यमा लगाउन पालिकाहरुले आग्रह गरेका छन् ।