• १६ चैत २०८०, शुक्रबार

उच्च शिक्षा अध्ययन गर्ने छोरी बुहारीलाई साइकल

blog

वडा कार्यालयले उच्च शिक्षा अध्ययन गर्ने छोरी बुहारीहरुलाई साइकल वितरण गर्दै । तस्विर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, जेठ २१ गते । उदयपुरको त्रियुगा नगरपालिका –२ मोतियाहीले उच्च शिक्षा अध्ययन गर्ने गाउँका छोरी बुहारीहरुलाई कलेज जान आउन सहज होस् भनेर साइकल वितरण गरेको छ । सो वडाको खैजनपुर मोतियाही क्षेत्रबाट करिव ८ किलोमिटर टाढा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छोरी बुहारीहरुलाई वडा कार्यालयले साइकल वितरण गरेको हो ।

शिक्षाको पहुँचबिना समृद्धि हासिल गर्न नसकिने भएकाले गाउँका बिपन्न र दलित किशोरीको उच्च शिक्षामा पहुँच बनाउने उद्देश्यले वडा कार्यालयको स्वीकृत बजेटबाट २९ जना किशोरीहरुलाई साइकल बितरण गरिएको वडा अध्यक्ष घमानसिंह खत्रीले बताउनुभयो  । 

दलित लक्षित कार्यक्रमको थोरै रकम खर्चगरेर यो कार्यक्रम गरिएकोमा आगामी वर्षदेखि रकम बृद्धि गरेर उच्च शिक्षा पढ्ने छोरी बुहारीलाई प्रोत्साहन गर्न साइकल वितरण गरिने योजना रहेको पनि बताउनुभयो ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार वस्नेतले आइतवार साईकल बितरण गर्दै अब गाउँका छोरी बुहारीहरुमा पनि शिक्षा हासिल गर्न सहज भएको र यसबाट नगरको शैक्षिक गुणस्तर सुधारमासमेत उल्लेख्य मात्रामा टेवा पुग्ने बताउनुभयो । नगरपालिकाले शिक्षा, स्वास्थ्यमा बिशेष जोड दिएर काम गरिरहेको भन्नुहुँदै नगर प्रमुख वस्नेतले प्रयास शिक्षित समुन्नत नगर बनाउने उद्देश्यमा केन्द्रित रहेको छ भन्नुभयो । 

कार्यक्रममा उपप्रमुख महेश्वरी राईले नगरको पहिलो प्राथमिकतामा रहेको शिक्षालाई गुणस्तरीय एवम प्रभावकारी बनाउन किशोरीहरुलाई साईकलले धेरै सजिलो बनाउने विश्वास व्यक्त गर्नुभयो । गरिब तथा बिपन्न परिवारका किशोरीहरुलाई समयमा बिद्यालय जान र घर फर्किन साईकलले महत्वपूर्ण योगदान पुग्ने छ उहाँले भन्नुभयो ।