• १४ वैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा बैठक सोमबारका लागि सर्‍यो

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलसहितका प्रतिपक्षी दलले अवरोध गरेपछि आजको बैठक स्थगित गरी भोलि सोमबारका लागि सारिएको छ । सभामुख देवराज घिमिरेले सोमबार ११ बजेका लागि बैठक राख्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

प्रतिपक्षी दल नेकपा (एमाले), रास्वपा र राप्रपाका सांसदहरूको अवरोधपछि एक घण्टाका लागि स्थगित भएको बैठक सञ्चालनबारेमा सहमति बन्न नसकेपछि सभामुख घिमिरेले बैठक भोलिका लागि सार्नुभएको उहाँको प्रेस विज्ञ शेखर अधिकारीले बताउनुभयो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा नेपालको भूमि साटफेर गरी बङ्गलादेश मोडलमा सहमति गर्न सकिने विकल्पमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्नुभएपछि प्रतिपक्षी दलले संसद् बैठकमा विरोध गर्नुभएको छ ।

सोहीअनुसार हालै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएपछि प्रतिपक्षी दलले विरोध गरेका छन् । संसद् बैठकको प्रक्रियामा नल्याई विधेयक प्रमाणीकरण भएको भन्दै प्रतिपक्षी दलका नेताहरूले संसदमा विरोध जनाएको बताएका छन् ।

प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।