• ७ वैशाख २०८१, शुक्रबार

कथासङ्ग्रह ‘मयँगाँठो’ विमोचन

blog

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, जेठ २१ गते । बाँकेका वरिष्ठ कथाकार डा इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ को शनिबार नेपालगन्जमा विमोचन गरिएको छ।  

खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित गरिएको सो कथासङ्ग्रहको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, वरिष्ठ लेखक तथा साहित्यकार नरेन्द्रजङ्ग पिटर र वरिष्ठ आख्यानकार नयनराज पाण्डेले सामूहिक रूपमा गर्नुभयो। 

 कथासङ्ग्रहको समालोचना गर्दै समालोचक ईश्वरी रिजालले यो सङ्ग्रहमा १८ वटा निकै समय सान्दर्भिक कथा समेटिएको जनाउँदै कोभिड–१९ महामारी र जनयुद्धको प्रभावसँग सम्बन्धित कथालगायत केही इतिहास झल्काउने कथाहरू पढ्नै पर्ने खालको रहेको बताउनुभयो। साहित्यकार सुमित्रा न्यौपानेले कथाहरू निकै रोमाञ्चक र शिक्षाप्रद रहेको बताउनुभयो। वरिष्ठ साहित्यकार सनत रेग्मीले खजुरा प्रज्ञा प्रतिष्ठानले साहित्यको विकासका लागि सुरु गरेको अभियान निकै महत्वपूर्ण रहेको भन्दै अन्य पालिकाले पनि प्रतिष्ठान स्थापना गरेर साहित्यिक गतिविधि अगाडि बढाउनुपर्ने बताउनुभयो। 

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरू महानन्द ढकाल र शशिराम कार्की, डा कृष्णप्रसाद घिमिरे, वरिष्ठ लेखक नरेन्द्रजङ्ग पिटर र वरिष्ठ आख्यानकार नयनराज पाण्डेले बाँकेमा साहित्यप्रति बढ्दै गएको अभिरुचि र लगाव निकै सकारात्मक रहेको चर्चा गर्नुभयो।  खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहनुभएका लेखक डा भण्डारीले बाँकेको साहित्यले अझै फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो।