गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २० गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा राष्ट्रहित विपरीत अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ । शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सञ्चारकर्मीसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्नेक्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने अभिव्यक्ति दिनुभएको थियो । अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको विरोध भइरहेको छ । पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशहित विपरीत अभिव्यक्ति दिनुभएको बताउनुभयो ।
प्रधानमन्त्रीको भारत भ्रमण निराशाजनक भएको र भारत भ्रमण तीर्थाटनजस्तो भएको गिरीले टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुगेको उहाँले बताउनुभयो ।
प्रमुख सचेतक गिरीले नागरिकता विधेयक प्रमाणिकरण गर्नु असंवैधानिक कदम भएको उहाँले बताउनुभयो । सो बारेमा समेत संसद बैठकमा एमालेले आवाज उठाउने उहाँले बताउनुभयो ।