• १६ चैत २०८०, शुक्रबार

खप्तड स्विजरल्याण्डभन्दा पनि सुन्दर छ : आचार्य

blog

पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण धनगढीमा । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, जेठ २० गते । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भूस्वर्ग खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी तीव्र बनेको छ । जेठ २३ देखि २५ गतेसम्म हुने सम्मेलनको तयारी तीव्र पारिएको हो । पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण धनगढी आइपुग्नुभएको छ । आध्यात्मिक सम्मेलनका लागि उहाँ धनगढी पुग्नुभएको हो ।

उहाँले आफू सुदूरपश्चिमको विकास र कल्याणका लागि सदैव सोच्ने मान्छे भएको बताउनुभयो । उहाँले खप्तड स्वीजरल्याण्डभन्दा पनि सुन्दर भएको दाबी गर्नुभयो । यसको प्रचार र विकास गरिनुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, ‘खप्तड धेरै सम्भावना भएको ठाउँ हो । खप्तड स्विजरल्याण्डभन्दा सुन्दर छ । यहाँको प्रदेश सरकारले, नेपाल सरकारले खप्तडको विकासमा लाग्नुपर्छ, हामी  पनि यसमा सहयोग गर्छौ ।’

पतञ्जलिले खप्तडलाई देश विदेशमा चिनाउन पहल गर्ने बताउँदै उहाँले खप्तडमा आफूले जडीबुटीको अन्वेषण पनि गर्ने बताउनुभयो । त्यसका लागि आफ्नो विज्ञ टोली खप्तड पुगिसकेको उहाँको भनाइ छ । 

त्यस्तै निकट भविष्यमै कैलाश मानसरोवर र खप्तडलाई आपसमा जोड्नुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि यहाँको सरकारलाई आफू सहयोग गर्न तयार रहेको बताउनुभयो । 

खप्तडमा हुने सो सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । भारतीय योगगुरु बाबा रामदेव, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलगायत सम्मेलनमा सहभागी हुनुहुनेछ ।

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहले सम्मेलनको आयोजना गर्न लागेका हुन् । 

खप्तडबाबाले ५० वर्ष साधना गरेको खप्तडलाई पर्यटकीय हिसाबले ‘भर्जिन’ क्षेत्र मानिन्छ । आध्यात्मिक सम्मेलनपछि खप्तडमा भारतीय र तेस्रो मलुका पर्यटक बढ्ने विश्वास खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक तथा मूल समारोह समितिका सदस्यसचिव भीमबहादुर खड्काले बताउनुभयो ।

ठुलठुला पाटन (चौर), पाटनभरि फैलिएका रङ्गीबिरङ्गी फूल, दह, जीवजन्तु र हिमालको प्राकृतिक सौन्दर्यले सुशोभित खप्तडबारे स्कन्द पुराणमा समेत चर्चा गरिएको पाइन्छ । धार्मिक किंवदन्तीअनुसार पाण्डुपुत्र युधिष्ठिर खप्तडको बाटो हुँदै स्वर्ग जानुभएको थियो ।

त्रिवेणीधाम, केदारढुङ्गा, नागढुङ्गा, खप्तड दह, खप्तड आश्रम, सहस्रलिङ्ग, खप्तडबाबाको कुटीजस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ । 

२२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) ले भरिपूर्ण जैविक विविधताको फूलबारी खप्तड सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरिका जडीबुटीले भरिपूर्ण छ । समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको खप्तड क्षेत्रमा सदियौँदेखि लाग्ने विविध सांस्कृतिक मेलामध्ये गङ्गा दशहरा, जनैपूर्णिमामा हजारौँ तीर्थयात्री त्यहाँ पुग्नेगरेका छन् । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ ।