• ७ वैशाख २०८१, शुक्रबार

उडिसा रेल दुर्घटना : २६१ जनाको मृत्यु, नौ सय बढी घाइते

blog

बालासोर (उडिसा), जेठ २० गते । उडिसा राज्यको बालासोरमा द्रुत गतिमा हुइँकिएका तीन वटा रेल एक आपसमा ठोक्किएर शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई सय ६१ पुगेको छ भने नौ सय जनाभन्दा बढी यात्री घाइते भएका छन् । 

दक्षिणपूर्वी रेलवेका अनुसार घाइते यात्रुहरूलाई राज्यको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोका अस्पताल भर्ना गरिएको छ । दुर्घटनास्थलमा उद्धार कार्य पूरा भएको र पुनः स्थापनाका काम जारी छन् ।

शुक्रबार बिहान सात बजे बालासोर जिल्लाको बहानागा बजार स्टेसनमा बेङ्गलुरु–हावडा सुपरफास्ट एक्सप्रेस, कोरोमण्डल एक्सप्रेस र मालवाहक रेल ठोक्किएका थिए । दुर्घटनामा यात्रुवाहक दुई वटा रेलका १७ वटा डिब्बा पटरीबाट बाहिर धेरै पर पुगेका छन्, गम्भीर रूपमा क्षतिग्रस्त भएका डिब्बाबाट त्यहाँ फसेका सबैलाई उद्धार गरिएको छ ।

केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव आफैँ पुनः स्थापनाको निरीक्षणमा हुनुहुन्छ । रेलवे बोर्डका अध्यक्ष, स्वास्थ्य सेवा विभागका महानिर्देशक घाइते यात्रुहरूको उपचारको निगरानी गरिरहेका छन् भने अन्य सबै वरिष्ठ सरकारी अधिकारीहरू अस्पतालहरूमा घाइते यात्रुको हेरचाह एवम् समन्वय गरिरहेका छन् ।

दुर्घटनास्थलमा औषधिसहित प्यारामेडिकल स्टाफसहित सयभन्दा बढी चिकित्सक टोलीलाई परिचालन गरिएको छ । घाइतेहरूलाई सोरो, बालासोर, भद्रक र कटकका अस्पतालहरूमा लैजान दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको छ ।

उडिसा सरकारले दुर्घटनाका कारण अलपत्र परेका उडिशा र पश्चिम बङ्गालका यात्रुहरूलाई उनीहरूको गन्तव्यसम्म निःशुल्क यातायात सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । त्यसका निम्ति दुर्घटनास्थल नजिक ३० वटा बस तयारी अवस्थामा राखिएको छ । घाइतेहरूलाई प्रदेशका सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ । रासस/एएनआई