• १३ मंसिर २०८१, बिहिबार

राजमार्ग विस्तारको काम समयमै सम्पन्न गर्न सांसद भण्डारीको निर्देशन

blog

सांसद शङ्कर भण्डारी चिनियाँ कम्पनीका प्रोजेक्ट म्यानेजर ज्याकी र बिजनेस म्यानेजर जिया हाओसँग शनिबार भेट गर्नुहुँदै। तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २० गते। नेपाली कांग्रेसका नेता तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पश्चिमखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ। शनिबार सडकको स्थलगत अनुगमन गर्दै सांसद भण्डारीले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो।

सडक विस्तार आयोजनाका ठेकेदार चिनियाँ कम्पनीका प्रोजेक्ट म्यानेजर ज्याकी र बिजनेस म्यानेजर जिया हाओसँग शनिबार भेट गर्दै काममा भएको ढिलाइबारे सांसद भण्डारीले चासो राख्नु भएको थियो। सांसद भण्डारीले सडकको काम हुँदा धुलोले जनताले खेप्नुपरेको सास्ती, वातावरण प्रदूषण लगायतमा ध्यान दिन निर्देशन दिनुभएको थियो । 

काममा असहजता भए नेपाल सरकार र सम्बन्धित सरकारी निकायमा आफूले सहजीकरण गरिदिने तर निर्माण कार्यमा भइरहेको ढिलासुस्ती र जनताको गुनासो अन्त्य हुनुपर्ने भण्डारीले बताउनुभयो। सांसद भण्डारीले भन्नुभयो, ‘‘सडक अनुगमनको क्रममा काम सन्तोष जनक देखिएन। 

जनतालाई यात्रुलाई सास्ती भोग्नु परेकोले गम्भीर भएर काम द्रुत रूपमा गर्नु आवश्यक देखियो।’’ भण्डारीसँगको कुराकानीको क्रममा प्रोजेक्ट म्यानेजर ज्याकीले समयमै कार्य सम्पन्न गर्न र स्थानीय जनताले भोग्नुपरेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।