नयाँ दिल्ली, जेठ २० गते। चारदिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गर्नुभएको छ।
शनिबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधि मण्डललाई विदेश राज्यमन्त्री लेखीले बिदाइ गर्नुभएको हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ गते भारत पुग्नुभएका प्रधानमन्त्री शनिबार स्वदेश फर्किन लाग्नुभएको हो।प्रधानमन्त्री प्रचण्डलाई जेठ १७ गते दिल्ली पुग्दासमेत विदेश राज्यमन्त्री लेखीले नै स्वागत गर्नुभएको थियो ।
भारतबाट नेपाल फर्किएपछि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार साँझ ६ बजे विमास्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलको आयोजना हुने जानकारी दिएको हो।
प्रधानमन्त्री प्रचण्ड नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली जानुभएको हो। प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेपछिको प्रचण्डले भारतको भ्रमण गर्नुभएको हो।
प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, अर्थमन्त्री डा प्रकाश शरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल हुनुहुन्छ ।
भ्रमणका क्रममा परम्परागत न्यानोपन तथा सौहाद्र्रताका साथ दुवै प्रधानमन्त्रीले द्विपक्षीय विषयमा व्यापक छलफल गर्नुभएको थियो।वार्ताका क्रममा राजनीतिक, आर्थिक, व्यापार, ऊर्जा, सुरक्षा तथा विकास सहकार्यलगायतका विषयवस्तुलाई समेट्दै दुवै प्रधानमन्त्रीले भारत र नेपालबीचको द्विपक्षीय एजेन्डाका सम्पूर्ण पक्षको समीक्षा गर्नुभएको थियो।प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू तथा उपराष्ट्रपति जगदीप धनकडसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।
त्यस्तै, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री दाहालसँग दिल्लीमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
दुवै प्रधानमन्त्रीले दुई देशबीच रहेको उत्कृष्ट सहकार्यको उल्लेख गर्नुभयो।जुन सहकार्य कोभिड–१९ महामारीले निम्त्याएको विषम परिस्थितिको बेला पनि कायम थियो।दुई देशबीचको बलियो आर्थिक तथा व्यापार साझेदारीमाथि प्रकाश पार्दै दुवैले अन्य सम्झौतालगायत भारतको आन्तरिक जलमार्गमा पहुँच प्रदान गर्ने संशोधित पारवहन सन्धिमा हस्ताक्षर गरेकामा स्वागत गर्नुभएको थियो।