• २१ वैशाख २०८१, शुक्रबार

समृद्ध नेपाल बनाउने आँट कसैले गरेन : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २० गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ बनाउने आँट कसैले पनि गर्न नसकेको बताउनुभएको छ । अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल: सुःखी नेपाली’ को नारा कसैले लगाउन नसकेको बताउनुभयो । पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

कुनै व्यक्ति नभई सिङ्गो समाजलाई माथि उठाउन आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको उहाँको तर्क छ । ढिलो होइन, छिटो विकास गर्न आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपाल: सुखी नेपाली नारा कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेताले उठाउन नसकेको बताउनुभयो । एमालेले समाज र मानवको विकास गर्ने अभियानमा रहेको उहाँको भनाइ छ । मानव समाजका लागि बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकासको खाँचो रहेको र त्यो एमाले नेतृत्वको सरकारले मात्र गर्न सक्ने उहाँको जिकिर छ । 

अध्यक्ष ओलीले गरिबी छिटो अन्त्य हुनेगरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताउनुभयो । विकास, निर्माणको कामलाई अघि बढाउन गरिबी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।

 

अध्यक्ष ओलीले सम्पूर्ण पपुलेशनलाई विकास निर्माणको प्रक्रियामा सहभागी गराउन पनि नेपालले विज्ञान र प्रविधिको प्रयोगमा ध्यान केन्द्रित गर्नुपर्ने उहाँको सुझाव छ । 

उहाँले भन्नुभयो, ‘अब हामीले भोकमरीको अन्त्य गर्नुछ । गरिबी निवारण गर्नुछ । सबभन्दा फाष्ट डेभलपमेन्ट कसरी हुन्छ त भन्दा हाम्रो १७–१८ प्रतिशत पपुलेशन अझै पनि गरिबिको रेखामुनि छ । त्यसकारण त्यो पपुलेशन अहिले पनि डेभलपमेन्टको बारेमा सोच्दैन ।’ पेटको बारेमा सोच्नु नपर्ने भएपछि ज्ञान, विज्ञान, प्रविधि र विकासको बारेमा सोच्न थाल्छ । त्यसकारण रूपान्तरणका लागि टेक्नोलोजी, साइन्सलाई प्रविधिमा कसरी रूपान्तरण गर्ने भन्ने हो उहाँले चर्चा गर्नुभयो । 

“हामी गरिबीबाट मुक्त हुन, भोकमरीबाट मुक्त हुन एकदमै जरुरी छ” उहाँले भन्नुभयो, “हामी यो साइन्स एण्ड टेक्नोलोजीको बारेमा किन चर्चा गरिरहेका छौँ ? सबै खालको विकासका लागि यसको जरुरी छ । यो पनि छिटो गरिबी अन्त्य गरौँ ।” अध्यक्ष ओलीले कृषि उत्पादनलाई स्वस्थ बनाउने कुरामा पनि प्रविधिलाई उपयोग गर्नुपर्ने बताउनुभयो ।