• २२ वैशाख २०८१, शनिबार

कसैको विरोध गरेर पार्टी बलियो बन्दैन : सभापति देउवा

blog

कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति शेरबहादुर देउवा । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ २० गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठुलो नबन्ने बताउनुभएको छ । शनिबार कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठुलो नबन्ने जिकिर गर्नुभयो । उहाँले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उहाँले अब युवा पुस्ताकै पालो भएको बताउनुभयो ।

सभापति देउवाले पार्टीका लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पार्नुभयो । उहाँले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले आफूले कांग्रेसलाई अहिले देशको ठुलो पार्टी बनाएको भन्दै आ आफूले सहयोग गर्ने मात्रै रहेको बताउनुभयो ।

‘‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठुलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठुलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ यसलाई बलियो बनाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठुलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ । लडाई गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठुलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’’

सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनाउन सकिने बताउनुभयो ।