• १६ चैत २०८०, शुक्रबार

महालेखाका विज्ञले भोलिबाट काम थाल्ने

blog

काठमाडौँ, जेठ २० गते । राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन्। महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण जाँच गर्न मङ्गलबार पाँच जना विज्ञ कर्मचारीको टुङ्गो लगाएको थियो। 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले महालेखा परीक्षकको कार्यालयले पठाएको कर्मचारीले आइतबारदेखि आयोगमै बसेर काम थाल्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “विशेषज्ञ कर्मचारीलाई प्रमुख आयुक्त तथा आयुक्तको उपस्थितिमा उहाँहरूले गर्ने कार्यबारे सङ्क्षिप्त जानकारी गराइएको छ। आइतबारदेखि दलले बुझाएको लेखा परीक्षण प्रतिवेदनसहितको अन्य कागजात अध्ययन सुरु गर्ने छन्।” 

दलको कागजात अध्ययन र जाँच गर्न आयोग परिसरमै कर्मचारीका लागि कार्यकक्षको व्यवस्थापन गरिएको छ। उहाँले अध्ययनका क्रममा दलले बुझाएको कागजात पुष्टि गर्ने कागजको सूची तयार गरिने बताउनुभयो। टोलीले तयार गरेको सूचीका आधारमा आयोगले सम्बन्धित दलसँग कागजात माग्ने छ। 

आयोगमा दलले बुझाएको लेखा प्रतिवेदन र दलको कार्यालयमा रहेको लेखाको स्रेस्तासँग भिडाएर जाँच्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ। आयोगका प्रवक्ता पौडेलले लेखा परीक्षण जाँच गर्न राजनीतिक दलको कार्यालयमै पुग्न सक्ने ऐनले स्पष्ट उल्लेख नगरेको बताउनुभयो। यद्यपि विशेषज्ञ टोलीको आवश्यकता अनुसार सो सम्बन्धमा कागजात मागेरै सकिने भए दलको कार्यालय नपुग्ने नभए ऐनले छेकबार नलगाएकाले पुग्न सकिने उहाँले बताउनुभयो। 

राजनीतिक दललाई आर्थिक रूपमा जवाफदेही बनाउन राजनीतिक दलसम्बन्धी ऐनले दलको कोष, त्यसको सञ्चालन तथा लेखा र लेखा परीक्षण शीर्षकमा गरेको व्यवस्थाभित्र रहेर टोलीले छानबिन गर्ने छ। राजनीतिक दलले गत माघमा आयोगमा बुझाएको आयव्यय विवरणमा ऐनले गरेको व्यवस्थाविपरीतका गतिविधि समेटिएको शङ्कामा छानबिन गर्न लागिएको हो। आयोगमा १६ राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन्।