• ६ वैशाख २०८१, बिहिबार

अत्यधिक गर्मीले झाडा पखाला, ज्वरो र छालाका बिरामी बढे

blog

गर्मीका विरामी धेरै आउने नेपालगञ्जस्थित भेरी अस्पताल ।

सिराज खान 

नेपालगञ्ज, जेठ १९ गते । देशकै सबैभन्दा बढी गर्मी हुने नेपालगञ्जको जनजीवन अत्यधिक गर्मीले प्रभावित भएको छ । नेपालगञ्जको राँझास्थित जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालयका अनुसार केही दिन यता यहाँको तापक्रम बढ्दै गएको छ । 

अत्यधिक गर्मी बढेका कारण यहाँका विभिन्न अस्पतालमा झाडा पखाला, ज्वरो र छालाका बिरामी उपचारका लागि पुग्नेगरेका छन् । भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. संकेतकुमार रिसालका अनुसार गर्मीले  पखाला लागेको, ज्वरो आएको र छालासम्बन्धी समस्या लिएर आउने बिरामीको चाप बढ्दैगएको छ ।  

डा. रिसालले अत्यधिक गर्मीकै कारण धेरै जनामा हात खुट्टा पाक्ने रोग समेत देखिएको बताउनुभयो । यसैगरी नेपालगञ्ज शिक्षण अस्पतालका सहायक निर्देशक डा. रोमन किदवाइले शिक्षण अस्पतालमा पनि हाल झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामीहरू बढी आउनेगरेको बताउनुभयो । 

उहाँले अत्यधिक गर्मीकै कारण बालबालिकामा शरीरभरि रातो बिमिरा आउने र पाकेर घाउ बन्ने सङ्क्रमण समेत देखिएको बताउनुभयो । शिक्षण अस्पतालका सहायक निर्देशक डा. किदवाईले गर्मीबाट हुने रोगबाट जोगिन अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन र पानी तथा शीतल पेय पदार्थको प्रयोग बढी गर्न सर्वसाधारणलाई सल्लाह दिइएको बताउनुभयो । 

सोहीप्रकारले स्वास्थ्य कार्यालय बाँकेले नेपालगञ्जलगायत जिल्लाका अन्य अस्पताल र निजी क्लिनिकमा पनि गर्मीकै कारण बिरामी आउनेको  सङ्ख्या ह्वात्तै बढेर गएको बताएको छ ।  स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लाको ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि गर्मीबाट बिरामी परेका बालबालिका र अन्य महिला पुरुषहरू पुग्नेक्रम बढेको बताउनुभयो ।