• १३ मंसिर २०८१, बिहिबार

खेलाडीको भविष्यप्रति सरकार चिन्तित : मन्त्री लिम्बू

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ १८ गते । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्यप्रति सरकार चिन्तित रहेको बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले खेलाडी र खेलाडीको भविष्य सुनिश्चितता हुनुपर्ने मागसहित बुझाएको ज्ञापन पत्र बुझेपछि बोल्दै मन्त्री लिम्बूले सरकार खेलाडीको भविष्यमा चिन्तित रहेको बताउनुभएको हो । 

ज्ञापन पत्र बुझिसकेपछि उपस्थित पदाधिकारीलाई सम्बोधन गर्ने क्रममा खेलाडी पलायन सम्बन्धमा सरकार चिन्तित भएको भन्दै खेलाडीलाई स्वदेशमा नै रहने वातावरण मिलाउने प्रबन्ध गर्ने विषयमा योजना ल्याउन लागेको समेत बताउनुभयो । 

नयाँ आर्थिक बजेट आएसँगै युवा, खेलाडी र खेलसँग जोडिनेका लागि छिट्टै योजना सार्वजनिक गर्ने समेत जानकारी दिनुभयो । खेलसँग जोडिएका खेलाडीहरूलाई खेलपछिको बाँकी जीवन बिताउनका लागि खेलको अलावा व्यावसायिक हुने गरी समय प्रबन्ध गर्न पनि मन्त्री लिम्बूले आग्रह गर्नुभयो ।

सबै खेलाडीको आर्थिक अवस्था र भौगोलिक अवस्था फरक फरक भएकोले विकल्पका समय मिलाउन मन्त्री लिम्बूले आग्रह गर्नुभयो ।यस्तै विभिन्न प्रदेशमा भौतिक पूर्वाधार निमार्णका लागि पनि सरकारले कार्यक्रमहरू अगाडि ल्याएको र पहिलो चरणमा प्राथमिकतामा रहेका पूर्वाधारलाई जोड दिने मन्त्री लिम्बूले बताउनुभयो । 

खेलाडीको वृत्ति विकास र प्रशिक्षणको व्यवस्थापनका लागि पनि राष्ट्रिय खेलकुद परिषद्सँग सम्मन्वय भइरहेको र नयाँ आर्थिक वर्षसँगै कार्यान्वयन हुने प्रस्ट पार्नुभयो ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले भौतिक पूर्वाधार निर्माण, खेलाडी पलायन रोक्न, धेरै भन्दा धेरै खेलका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षणको व्यवस्थापन गर्न, खेलकुद भित्रको अनियमितता रोक्न, राष्ट्रिय टिम तयारीलाई वर्षभरी निरन्तरता दिन लगायत १४ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको थियो ।