• १५ वैशाख २०८१, शनिबार

शहीद पार्क निर्माण अलपत्र

blog

कबिराज घिमिरे 

हिले जेठ १८ गते । धनकुटाको शहीदभूमि गाउँपालिकामा बन्दै गरेको शहीदपार्कको काम सुरु भएको २३ वर्ष बितेको छ । वि‍‍.सं २०६६ सालबाट तत्कालीन शान्ति मन्त्रालयको एक करोड लागतमा पार्क निर्माण कार्य सुरु भएको यो पार्कको निर्माण कार्य अझै सकेको छैन । 

यो पार्क २०३६ सालको छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त १६ शहीदहरुको सम्झनामा निर्माण सुरु गरिएको थियो । पालिकाको वडा नं.२ र ३ को पातल डाँडामा क्रमगत योजना अन्तर्गत निर्माण सुरु गरिएको उक्त पार्कको बाँकी काम पुरा नहुँदा सो समयमा निर्माण भएका संरचनाहरू पनि जीर्ण बन्दै गएका छन् ।

हालसम्म सङ्घ र प्रदेश सरकारको क्रमगत योजनाअन्तर्गत दुई करोड आठ लाख खर्च गरेर १२ किलोमिटर सडक, सहिद स्तम्भ भ्युटावर सहित विभिन्न संरचना निर्माण गरिएको छ । तर पटकपटक आएको बजेट पर्याप्त नहुँदा पार्कको काम पुरा हुन नसकेको उपभोक्ता समितिका अध्यक्ष रुपलाल राईले जानकारी दिनुभयो । 

“एकै पटक बजेट नआउने कारणले निर्माणमा समस्या भएको हो” राई भन्नु हुन्छ, यो वर्ष बजेट नहुँदा थप निर्माण गर्न समस्या भएको पालिकाले जनाएको छ । पार्क निर्माणको काम पुरा गर्नका लागि प्रदेश सरकारले डिपिआर तयार पारेर लगेकाले अब पार्कको काम चाँडै पुरा हुने गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।

पार्क निर्माणका लागि २०६६ सालमा एक करोड, ०७४ मा ३८ लाख, ०७५ सालमा ४० लाख सङ्घीय सरकार र त्यसपछि ०७६ सालमा २० लाख, ०७७ र ०७८ सालमा कोशी प्रदेश सरकारको १०/१० लाख खर्च भएको थियो । त्यसयता भने सो योजनाको लागि बजेट पर्न सकेको छैन ।