• ११ मंसिर २०८१, मङ्गलबार

सकियो धुलेको मूलबिधि

blog

धुले पर्व मनाउँदै मगर समुदाय । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ १८ गते । लामो समयदेखि चल्दैआएको मान्यता रहेको मंगला गाउँपालिका –३ र ४ मा मनाइने मगर समुदायको मुख्य चाड धुलेको तीन दिने औपचारीक बिधि सकिएको छ । म्याग्दीमा मानिदैआएको मध्ये पुरानो पर्व धुलेको यसवर्ष अन्तिम दिन बिहीबार सकिएको हो ।

चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबार सुरु भई बिहीबार सकिने धुले गएको मंगलबार बाट सुरु भएको थियो । ५४ घर कुरिया मगरहरुले बि.सं. १३१२ मा बरंजाको थर्पुमा कोत घर निर्माण गरेर धुले मेला मनाउन थालेको तथ्यहरु भेटिएको बरंजा सातबिसेका तुकप्रसाद रोकाले जानकारी दिनुभयो । 

करिब १३ औं शताब्दीदेखिको यो पर्व अहिले पनि मनाउँदै आइएको छ । ९ वटा फरक थरका ५४ घर मगरबाट सुरु भएको सो पर्व प्रत्येक वर्ष जेठको तेस्रो वा चौथो मङ्गलबार सुरु भएर बिहीबार सकिन्छ । कोभिड–१९ को कारणले गर्दा २०७७ र २०७८ मा बिधि मात्रै गरेर सकिएको धुले पछिल्लो समय कोभिड कम हुँदै गएपछि पुनः मनाइन थालेको ५४ कुरिया मगर समुदायका युवा लेखनाथ रोकाले बताउनुभयो ।

झण्डै सात सय वर्षदेखि निरन्तर यस क्षेत्रमा पूजा हुँदैआएकाले पुरानो संस्कार जोगाउँदै आधुनिकीकरण पनि गरिनुपर्ने अर्का युवा बुद्धिबहादुर घर्तीले बताउनुभयो । ५४ कुरियाबाट सुरु भएका मगरहरु चार सयभन्दा धेरै घर र २ हजार पाँच सयभन्दा धेरै जनसंख्या पुगेको अनुमान छ ।

जेठ १६ गते मङ्गलबार पितृकार्य अर्थात् पितृ चढाएर सुरु भएको धुलेमा त्यसपछि छेको हाल्ने कार्य गरिएको स्थानीय युवा चित्रबहादुर रोकाले बताउनुभयो । छेको हालेपछि गाउँभरमा कुनै पनि काम गर्न नहुने, खेतीपाती एवम् अन्यत्र जान नहुने प्रचलन छ । लोकल रक्सी उत्पादनको बिधि अनाज पकाएर त्यसमा मर्चा नामक औषधि मिसाएर छ्याङ (जाँड) राखेपछिको मङ्गलबार पितृ चढाउने, बुधबार पराङ हालेर आफ्नो समुदायभित्रका युवा युवतीबीच रमाइलो गर्ने र बिहीबार मुल बिधि गरेर धुले औपचारीक समापन गरिन्छ ।

अन्तिम दिन अर्थात् बिहीबार ५४ कुरिया मगरको कोत घरमा भित्र पाका पुस्ताले ११२ श्लोक गीत गाउने गर्छन् । ती गीतका टुक्कालाई होरे गाउने र कोत घरभित्र भएका पाका पुस्ताले प्रत्येक श्लोक गीत गाएपछि बाहिर गोलो भएर लौरी समातेर बसेकाहरु प्रत्येक गीत सकिँदा एक फन्को घुम्ने गर्छन् ।